Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

तीनकुनेमा नछोपिएको सरकारको लाज

४ कार्तिक,   सृजना घिमिरे,   at 10:28 PM

By   /  October 21, 2019  /  Comments Off on तीनकुनेमा नछोपिएको सरकारको लाज

    Print       Email

नेपाली समाजमा एउटा आहन छ, ‘कुनै परिवार कति सभ्य छ भन्ने जान्न, ढोका पछाडि फोहोर थुपारिएको छ/छैन हेरे पुग्छ ।’ दुई दशकपछि भएको शक्तिशाली देशका विशिष्ट पाहुनाको स्वागतमा हामीले यही सामान्य उक्तिलाई पनि भुल्यौं । या, सम्झना चाहेनौं ।

प्रसंग चिनियाँ राष्ट्रपति सी चिनफिङको २५ र २६ असोजमा भएको राजकीय भ्रमणको हो । सीको स्वागतका लागि काठमाडौंका सडक चिल्लो पारिएका थिए, चोक सिंगारिएका थिए ।

एकातिर जनताले वर्षौंदेखि कालोपत्रे गर्न माग गरिरहँदा बौद्ध–जोरपाटी सडकखण्ड अझै अपलपत्र छ अर्कातिर सी भ्रमणको मिति तय भएलगत्तै राजधानीको मुख्य सडक रातारात कालोपत्रे भएका थिए ।

स्मरणीय विषय चाहिँ जहाँजहाँ सीको सवारी हुँदै थियो, त्यहीँ मात्र तामझाम गरिएको थियो । ढकमक्क फुलेका फुलका विरुवा ल्याएर राखिएका थिए । स्वागतरुपी भाव झल्किने शब्द चिनियाँ, अंग्रेजी र नेपाली भाषामा लेखेर ठूल्ठूला फ्लेक्स प्रिन्ट टाँगिएका थिए ।

सी भ्रमणको तयारी यति छिटो र द्रुत गतिमा भएको थियो कि दिनरात नभनी मजदुर अहोरात्र खटिए । त्यसो त यसको अर्को पाटो पनि छ, सी नेपाल आइपुगेकै दिन पनि केही स्थानमा कालोपत्रे सकिएको थिएन । यसले ‘जब पर्यो राति, तब बुढी ताँती’ भन्ने भनाइलाई पनि झल्क्याउँथ्यो ।

समग्रमा सरकारले गरेको तामझामपूर्ण तयारीले काठमाडौंमा वेग्लै रौनक छाएको थियो । यद्यपि, कताकता केही छुटेजस्तो आभास भने भइरहन्थ्यो ।

आखिर किन ? आउनुस्, पहिले यी तस्वीर हेर्नुस्ः–

जसरी चीनले चमत्कारिक विकास गरेर विश्वको ध्यान आफूतिर खिचिरहेको छ, त्यसरी नै तीनकुनेको बीच भागमा रहेको पार्कलाई सरकारले क्षणभरमै हराभरा मात्र होइन, आश्चर्यजनक र लोभलाग्दो नै बनाइदियो ।

पार्क बनाउने तयारी गरिए पनि वर्षौंदेखि अलपत्र चौरमा चिनियाँ दुबो र फुलहरु विच्छ्याएर सुन्दर बनाइएको थियो । सी भ्रमणको पूर्वसन्ध्यामा त्यहाँ युवायुवतीले सेल्फी खिच्दै गरेको तस्वीर पनि प्रचारमा ल्याइए ।

तर, पार्कको भित्री कहानी भने छेऊमै गएर हेरेपछि मात्र थाहा हुन्छ । बाहिरबाट झट्ट देखिने दृश्य जति सुन्दर लाग्छन्, भित्र त्यति नै दुर्गन्धित र उराठ लाग्दो दृश्य देखिन्छ ।

पार्क भनेर बनाइएका ढिस्कोबाट कट्ने वित्तिकै घरबाट निस्किएका फोहोर फ्याकिएको घाँसे मैदान देखिन्छन् । जहाँ वियर र पानीका बोतल असरल्ल छरिएका छन् । केही किशोर क्रिकेटमा रमिरहेका छन् भने केही भाँचिन लागेको पिङमा झुण्डिरहेका छन् ।

बाहिरबाट झट्ट हेर्दा देखिएभन्दा ठीक विपरित दृश्यभित्र देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर चिनियाँ राष्ट्रपति सी आउँदा बाटोमा स्वागत गर्न भनेर यो पार्क रातारात तयार गरिएको थियो ।

चौरलाई माटो ढिस्कोले घेरेर फुल र दुबोसँगै कृतिम जनावरका आकृति राख्दै गर्दा सम्बन्धितले यदी सीले ओर्लिएर पार्क हेर्ने इच्छा राखे के होला भन्ने किन सोचेनन् ?

विगतमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बाटोमा उत्रिएर आकस्मिक रुपमा सर्वसाधारणसँग हात मिलाएको घटनाले यो कुरा विचारयोग्य भएको देखाउँछ । तर, यसतर्फ सोचिएको देखिँदैन ।

बरु सीलाई हेलिकोप्टरमा खप्तड, रारा वा डोल्पाको शेफोक्सुण्डो ताल लगेर हाम्रो प्राकृति छटा देखाइदिएको भए के हुन्थ्यो ? पक्कै पनि सरकारको भिजिट नेपाल २०२० को अभियानलाई सहयोग पुग्थ्यो ।

तर, सी आउने दिन तीनकुनेमा राखिएका दुबो र विरुवा पानीको अभावमा ओइलाउन थालिसकेको थियो । विगतमा भएका विशिष्ट व्यक्तिको भ्रमणमा जस्तै यो पटक पनि पाहुना जाने वित्तिकै सिंघारिएको क्षेत्र विद्रुप बन्दैछ ।

यद्यपि, आलोचनाको भयले हुनसक्छ, अहिले केही पटक तीनकुनेको दुवो रोपिएको डिलमा पानी हालिएको छ ।

दुखद् विषय चाहिँ तीनकुनेमा रोपिएका दुबो पनि चोरी हुन थालेका छन् । केही चपरी चोरी भएपछि काठमाडौं महानगरपालिकाले सशस्त्र प्रहरीलाई पहरा दिन आग्रह गरेको छ । अहिले सशस्त्र प्रहरीका दुई जवान तीनकुनेको निगरानी गरेर बसेका छन् ।

अब महानगरपालिका र सम्बन्धित निकायले यो क्षेत्रमा निर्मित हरियालीलाई कहिलेसम्म टिकाइ राख्लान् भन्ने चाहिँ भविष्यले नै बताउला ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा बसाईबाट म आफैं पुरस्कृत भएको अनुभूत गरेको छुः उदयबहादुर राना मगर

Read More →