Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

हाम्रा कुरा नसुन्ने हाे भने राष्ट्रिय एकता कठिन छः महन्थ ठाकुर

१६ जेठ,   खबरमञ्चडेस्क,   at 9:25 PM

By   /  May 29, 2020  /  Comments Off on हाम्रा कुरा नसुन्ने हाे भने राष्ट्रिय एकता कठिन छः महन्थ ठाकुर

    Print       Email

काठमाडाैं । नेपालको अद्यावधिक नक्सा सार्वजनिक गरेसँगै संविधानमा रहेको निशान छाप परिवर्तन गर्न भन्दै सरकारले ल्याएको संविधान संशोधन विधेयकमा मधेश केन्द्रित दल राजपाले समर्थन नगर्ने देखिएको छ ।

शुक्रबार राजपा नेताहरु गैर सरकारी विधेयकको रुपमा आफ्ना मागहरु समेटेर संविधान संशोधनको प्रस्ताव लिएर संसद सचिवालय पुगेका थिए । तर संसद सचिवालयले अध्ययन गर्नु पर्ने भन्दै विधेयक दर्ता गर्न नमानेपछि आक्रोशित बनेको राजपा नेतृत्वले आफूहरुका मागमा सरकारले वेवास्ता गरे नछाड्ने सम्मको चेतावनी दिएका छन् ।

राजपा संसदीय दलका नेता महन्थ ठाकुरले आफूहरुले जनताको विषय उठाएको र त्यसैका लागि संविधान संशोधन होस् भनेर विधेयक दर्ता गर्न आएको जनाउँदै भने, ‘जनताले अधिकार पाएका छैनन्, देशको एक भागका जनता आक्रोशित छन् । यस्तो बेला उनीहरुको कुरा सुन्नेमा कुनै चासो नदिने आफ्ना कुरा मात्र गर्ने गरेर हुन्छ ? प्रधानमन्त्री पनि हाम्रा सुन्नुहुन्न र खाली आफ्नो कुरा सुनाउनु हुन्छ, यस्तो अवस्थामा देशमा कसरी राष्ट्रिय एकता हुन्छ ? कल्पना नगर्नुस्।’

राजपाले नागरिकता, भाषा, समानुपातिक प्रतिनिधित्व लगायतको विषयमा संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको छ ।

सरकारले नयाँ नक्सा अनुरुप निशान छाप परिवर्तन गर्न भन्दै संविधान संशोधन विधेयक ल्याइरहँदा आफूहरुका माग पनि प्याकेजमा लैजाउँ भनेर राजपाले दलहरुसँग छलफल पनि गरिरहेको छ ।

सरकारले आफूहरुका कुरा नसुनेको भन्दै गैरसरकारी विधेयक दर्ता गर्नुपर्ने अवस्थामा पुगेको नेता ठाकूरले बताए । तर सरकारले ल्याएकाे  विधेयक दर्ता हुँदा आफूहरुकाे  विधेयक दर्ता नभएकाेमा पनि उनी आक्राेशित थिए ।

त्यसैले अब नयाँ नक्सा अनुसार निशान छाप  परिवर्तन गर्न ल्याइएकाे संविधान संशोधन विधेयकको पक्षमा उभिन पनि कठिन हुने उनको भनाइ छ ।

‘कांग्रेस र माओवादी सरकार भएका बेला मधेशका लागि संविधान संशोधन गर्ने गरि जुन संशोधन आएको थियो। त्यसबेला एमालेले भोट नदिदाँ अगाडि बढेन। त्यसैलाई फेरि लिएर आएका हाैं । तर खाेइ माथिबाट के आदेश आयाे दर्ता भएन,’ उनकाे भनाइ छ ।

आफूहरुले सर्वदलीय बैठकमा पनि आफ्ना कुरा प्रस्टसँग राखिसकेको भन्दै ठाकुरले आफ्ना मागमा जनताको भावना जोडिएको भन्दै सँगै लिएर जानु पर्ने कुरा पटक पटक राखेको दाबी गरे । उनले भने,’यसलाई सम्बोधन गरेर संशोधन मार्फत् हामीहरुको जे समस्या छ त्यसलाई समाधान गर्नुहोस् यदि भएन भने जनता आक्रोशित हुन्छ, मधेश आक्रोशित हुन्छ। हाम्रो भनाई थियो । आक्रोशित जनता राष्ट्रिय एकताको पक्षमा जाँदैन।’

सरकारले पटक पटक आफूहरुको माग सम्बोधन गर्छौं भनेर झुटो आस्वासन दिएको भन्दै अब संवाद पनि कठिन हुने बताए ।

सीमा विवादको विषय देशका अन्य ठाउँमा पनि भएको भन्दै भने, ‘विवाद अरु ठाउँमा पनि छ। कालपानी, लिम्पियाधुरामा मात्र छैन। त्यो कुराहरु पनि अब उठ्छ। सुगौली सन्धीमा धेरै कुरा आएको छैनु । त्यो कुरा अब उठ्छ। त्यो पनि विवादको विषय बन्छ अब। छोड्दैनौँ हामी।’

राजपाले केही समय अघि समाजवादी पार्टीसँग पार्टी एकीकरण गरेकाे भएपनि निर्वाचन आयाेगबाट मान्यता पाएकाे छैन । त्यसैले उनीहरुले राजपाकै तर्फबाट संविधान संशाेधन  विधेयक लिएर गएका थिए  । टाेलीमा राजपाका नेताहरु महिन्द्रराय यादव, राजेन्द्र महताे, अनिल झा लगायत थिए । समाजवादीका तर्फबाट भने काेही थिएन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिनुपर्छः वामदेव गौतम

Read More →