
गत फागुन महिनाको शुरुवाततिर चीनको वुहानबाट त्यहाँ अध्ययनरत चिकित्सकलगायत अन्य विद्यार्थीलाई कसरी नेपाल ल्याउने भन्ने विषय चर्चा चल्दै थियो।
चीनमा अध्ययनरत एक जना साथी डा. माधव गौतम मेरो सम्पर्कमा आउनुभो। अनि कुरा गर्यौं त्यहाँको अवस्थाको बारेमा। उहाँका कोठा देखाउनुभो भिडियो कलमा। अनि लाग्यो, ‘यो त अति भो। समाचार बनाएर सरकारलाई घच्घच्याउनु पर्छ। सरकारले चाँडो उहाँहरूलाई उद्धार गरेर नेपाल ल्याओस्।’
उहाँहरू क्वारेन्टिनबाट ननिस्किन्जेल समाचार बनाइयो जनतालाई पनि चेतना होस् भनेर। खबर पुगोस्। कोरोना भाइरसको संक्रमण निकै भयावह हुन्छ, जोगिनु पर्छ भनेर।
त्यो बेला चीनकै वुहानमा कार्यरत एकजना नेपाली चिकित्सक डा. रमेश आचार्यका कुरा धेरै सुन्यौं। नेपालमा उहाँ अन्तर्वार्ता धेरै बजे। सबैको कानमा पुगे।
संक्रमण चीनबाट युरोप पुग्यो। स्पेन, इटाली, बेलायतलगायत मुलुकहरूको स्थिति भयावह बनेको कुरा सबैले सुने होलान्। सरकारका व्यक्तिहरूले पनि पक्कै सुने होलान्।
अमेरिकामा कोरोना संक्रमण भयावह बन्यो। अहिले पनि उस्तै छ। राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत संक्रमित भए।
युरोपमा पनि दोस्रो लहर शुरु भएको भन्ने विवरण आइरहेका छन्। कतै त पुनः लकडाउन गर्न थालिएका विवरण आइरहेका छन्।
दक्षिण एसियामा भारतको अवस्था अहिले पनि उस्तै छ। दिन दुई गुणा रात चार गुणाले संक्रमण बढ्दै छ।
तर सिक्नुपर्ने बेला नेपाललाई केले रोक्यो नागरिकले बुझ्न सकेका छैनन्।
शुरुमा संक्रमितले मात्र मास्क लगाए हुन्छ भनियो। स्यानिटाइजरले हात गर्न भनियो। साबुन पानीले हात धोइरहन भनियो। पछि फेरि सबैले मास्क लगाउनु पर्छ भनियो।
शुरुमा हावाबाट सर्दैन भनियो। पछि फेरि थोरै दुरीसम्म हावाबाट पनि सर्छ भनियो। हुनसक्छ अनुसन्धानले त्यस्तै देखायो।
नेपालमा अहिले कोरोना संक्रमणको ग्राफ अहिलेसम्मकै उच्च छ। बिहीबार मात्र ४३ सय भन्दा बढीलाई संक्रमण देखियो। जुन अहिलेसम्मकै उच्च बृद्धिदर हो।
शुरुमा लकडाउन गरियो। मान्छे घरमा थिए। अलि अलि राहत बाँडे। फोटो खिचाए। सामाजिक सञ्जालमा हाले अनि रमाए। केही दिन त्यस्तै श्रृंखला चल्यो।
मान्छेले भने ‘लकडाउन खोल।’
तर लकडाउन खोलेर जुन सावधानी अपनाउन बारम्बार सुझाव दिइयो, त्यो आजका मितिसम्म पनि पालना भएन।
मान्छेले मास्क किने महंगो केएन ९५। तर सोरेर घाँटीमा पुर्याए। अनि सोधे चिकित्सकलाई ‘मास्क त लगाएको थिएँ। कसरी संक्रमण भयो?’
‘लाज छोप्ने कपडा हातमा लाउँदा लाज छोपिन्छ?’
हो, संक्रमणको जोखिम यहीँ छ।
मान्छे एकलै हिँड्दा मास्क लगाउँछ। तर जब दुईजना भेट हुन्छन् सुलित्त मास्क मुनी सारेर बोल्छन्।
‘ए हजुर, बरु एकलै हिँड्दा मास्क नलगाउँदा तपाईंले अरुलाई संक्रमण सार्नु हुन्न। दुई जना भेट्दा चाहिँ मास्क नखोल्नुस् न।’
कुनै पसलमा जान्छन्, तर त्यही भीडमा घुस्रिन्छन्। यो असावधानीले कहाँ पुर्याउँछ?
पालो पर्खिन सकिन्न?
यही हो नागरिकको गैर जिम्मेवारी पन। अब त अस्पतालका बेड पनि भरिए भन्दैछन्। अस्पतालमा ठाउँ नपाए मर्नु त होला नि।
मेची प्रादेशिक अस्पतालका चिकित्सक डा. गोविन्द कँडेल भन्दै थिए, ‘कोरोना लाग्ने मान्छे बल्ल बाँचेर आएँ भन्छन्। कोरोना नलाग्ने मान्छे केही होइन भन्दै हिँड्छन्।’
सरकारका त कुरै गर्न पनि मुख दुखाउनु मात्र हो।
शुरुमा संक्रमितलाई फूल मालाले अस्पतालबाट विदाई गरे। त्यही बेला पनि मैले सोचेको हो ‘यो नाटक किन गर्या होला!’
अहिले शहरी क्षेत्रमा घर/घरमा संक्रमित छन्। काठमाडौंका अस्पतालमा बेड भरिए रे।
तर मान्छे ताल पनि उस्तै सरकारको चाल पनि उस्तै।
पिसिआर परीक्षण गर्न जाँदा नै मान्छे त्यहीँबाट संक्रमित भएर आउँछ जस्तो।
परीक्षणलाई व्यवस्थित नगर्ने हो भने बन्द गर्दा हुन्छ यो नाटक। ए सरकार, परीक्षण गराउन जाने मान्छेको लाइन देखेको छ?
अनि सरकारका मान्छे आफैं भन्छन् ‘बेहोस् भए मात्र अस्पताल आउनु।’
थैट!!!
कुरा गर्यो कुरैको दुःख। यति चाहिँ हो, ‘कोरोना कहरः गैर जिम्मेवार नागरिक र सरकार।’