Loading...
You are here:  Home  >  समाज  >  Current Article

जनता हाम्राे पहिलाे प्राथमिकता हाे, काेराेनासँग हार खाँदैनाैं: कचनकवल गाउँपालिका अध्यक्ष आलम

१९ जेठ,   चन्द्रकला भण्डारी,   at 9:17 PM

By   /  June 1, 2020  /  Comments Off on जनता हाम्राे पहिलाे प्राथमिकता हाे, काेराेनासँग हार खाँदैनाैं: कचनकवल गाउँपालिका अध्यक्ष आलम

    Print       Email

झापा । झापाको कचनकबल गाउँपालिकामा १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालको सबैभन्दा होचो स्थानका रुपमा रहेको सो गाउँपालिका यतिखेर कोभिड–१९ महामारीको स’ङ्कटसँग जुधिरहेको छ । कूल ४२ हजार जनसङ्ख्या रहेको दक्षिणी सीमास्थित सो गाउँपालिकामा प्रदेश नं १ कै सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएका छन् । तर महामारीसँग हार नखाएको गाउँपालिकाका अध्यक्ष अन्जारा आलमले बताउनुभयो ।

यहाँका ६ वटा क्वारेन्टिनमा ४१७ जना स्थानीयवासीलाई राखिएको छ । कोरोना सङ्क्रमण पुष्टि भइसकेका १०० जनालाई धरान र विराटनगरस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अझै १०० जनाको पिसिआर नतिजा आउन बाँकी छ । क्वारेन्टिनमा राखिएकालाई दोस्रोपटकको पिसिआर टेष्ट नेगेटिभ आएपछि मात्र घर जान दिइने अध्यक्ष आलमले बताउनुभयो ।

“१०० जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको अवस्थालाई बाहिरबाट हेर्दा भयावह देखिन्छ होला”, गाउँपालिकाका अध्यक्ष आलमले भन्नुभयो, “सीमित स्रोत र साधनका बाबजुत कोरोना सङ्कटसँग जुधिरहेका छौँ, विषम परिस्थितिलाई होसियारीपूर्वक सम्हालिरहेका छौँ ।”

भारतबाट प्रवेश गर्नेहरुलाई सीमाबाट उद्धार गरेर क्वारेन्टिनमा राख्ने र क्वारेन्टिनबाट समुदायमा सङ्क्रमण हुन नदिने रणनीतिअनुरुप अहिले कोरोना महामारीको रोकथाम र नियन्त्रणका काम सफल भइरहेको उहाँले बताउनुभयो ।

आदिवासी र मुस्लिम बाहुल्य कचनकबल गाउँपालिकाका युवा रोजगारीका लागि भारतको मुम्बई, केरला, गोवा र दिल्ली जाने गरेको र बन्दाबन्दीका बेला कोरोना सङ्क्रमित भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

समुदायमा सङ्क्रमण फैलिन नदिने आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले भारतबाट आउनेहरुलाई घर पुग्न नदिई सीमाबाटै नियन्त्रणमा लिएर क्वारेन्टिनमा राखेका कारण सङ्क्रमणको स्थिति भयावह बन्न नपाएको बताउनुभयो ।

गाउँपालिकाले बन्दाबन्दीलाई कडाइका साथ लागू गरेको र क्वारेन्टिनमा रहेकालाई खाने र बस्ने राम्रो प्रबन्ध मिलाएको उहाँले जानकारी दिनुभयो । आन्तरिक स्रोत न्यून भएका बेला प्रदेश सरकारबाट आएको रु १० लाख अनुदान आएको र थप रु १५ लाख आउने निधो भइसकेको उहाँले बताउनुभयो ।

कोरोनासँग जुध्न गाउँपालिका भवन निर्माण र डायलायसिस सेन्टर स्थापनाका लागि छुट्याइएको रु ४५ लाख बजेट रकमान्तर गरेर खर्च गरिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना महामारीले चौतर्फी सङ्कट सिर्जना गरे तापनि गाउँपालिकाले सीमा सुरक्षामा खटिएका प्रहरी, कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी र राजनीतिक दलबाट पाइरहेको सहयोग र समन्वयले नै कोभिड–१९ सँग लड्ने क्षमता वृद्धि गरेको अध्यक्ष आलमको ठहर छ ।

भारतको विहारसँग जोडिएको सीमा क्षेत्रमा भारतीय नागरिकसँग बन्दाबन्दीको अवधिमा मकैबाली उठाउने निहुँमा चारपटक झडप भइसकेको छ । जसमध्ये सीमामा तैनाथ नेपाली सुरक्षाकर्मीले दुईपटक त हवाईफायर नै गर्नुपरेको थियो । “आफ्नो सुरक्षाको पर्वाह नगरी जनताको स्वास्थ्य सुरक्षाका लागि रातदिन खटिरहेका छौँ”, कोरोनासँगको युद्धमा हार नखाएको बताउँदै उहाँले भन्नुभयो, “जनता बचाउनु हाम्रो दायित्व हो, विकास निर्माणका काम पछि पनि गर्न सकिन्छ ।” रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा निधन

Read More →