Loading...
You are here:  Home  >  अन्तरवार्ता  >  Current Article

आइसोलेसनबाट मेचीनगरका मेयरकाे अनुभवः ‘आफूलाई नपरुञ्जेल मात्र कोरोना केही न केही’

कात्तिक ३,   सृजना घिमिरे,   at 10:55 AM

By   /  October 19, 2020  /  Comments Off on आइसोलेसनबाट मेचीनगरका मेयरकाे अनुभवः ‘आफूलाई नपरुञ्जेल मात्र कोरोना केही न केही’

    Print       Email

कोभिड–१९ (कोरोना) भाइरसको महामारीका वेला पूर्वी नाका काँकरभिट्टाबाट पूर्वदेखि पश्चिम नेपालसम्मका सयौं नागरिकहरु भित्रिए । रोजगारीका लागि भारतको विभिन्न स्थानमा गएका नागरिक फर्किँदा व्यवस्थापनमा सरुवाती दिनमा हम्मेहम्मे पर्‍यो ।

पछिल्ला केही महिनादेखि भने नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र मेची नगरपालिकाको संयोजनमा भारतबाट आउने व्यक्तिको व्यवस्थापनलाई सहज बनाइएकाे छ । यी सबै कुराको केन्द्रमा रहेर मुलुकमा संक्रमण भित्रिन नदिन पूर्वी सीमामा खटिएका मेचीनगर नगरपालिकाका प्रमुख मेयर विमल आचार्य आफैं अहिले संक्रमित छन् ।

पिसीआर जाँचका क्रममा २८ असोजमा कारोना भाइरसको संक्रमण देखिएपछि उनी आइसोलेसनमा छन् । र, आइसोलेसनबाटै खबरमञ्चसँग अनुभव साट्दै उनले सर्वसाधारणलाई कोरोना भाइरसलाई सामान्य नसोच्न आग्रह गरेका छन् । भनेका छन्, ‘दसैं त फेरि पनि आउला तर, कोरोनाले आफन्त कहिल्यै भेट्नै नसक्ने अवस्था नबनोस् ।’

प्रस्तुत छ, आचार्यसँग गरिएको संवादको सम्पादित अंश –

मेयरज्यू, अहिले तपाईंको स्वास्थ्य अवस्था कस्तो छ ?

म अहिले घरमै छु, घर आएको छ दिन भयो । ज्वरो आएको छ । खोकी छ । तर, अक्सिजनको लेभलहरु ठिकै छ । मलाई लाग्छ, अब केही दिनमा ठिक होला । खानाहरु पनि खाइरहेको छु । त्यस्तो समस्या देखिँदैन ।

कोभिड–१९ (कोरोना) भाइरसको संक्रमण कति वेला भयो होला ? केही अनुमान गर्नु भएको छ ?

म सीमा क्षेत्रमा बस्छु । सीमाको नगरपालिका भएको हुनाले नाकाबाट लाखौं मानिसहरु भारत लगायतका क्षेत्रबाट आए ।

अहिले ७/८ महिनाको अवधिमा बाहिरबाट आउने र यहाँबाट जाने नागरिकको व्यवस्थापनमा खटिएको छु । हालै काठमाडौंबाट आउने मान्छेको संख्या पनि बढेको छ । उनीहरुलाई आउन कुनै रोकटोक छैन ।

बाहिरबाट आउनेलाई होल्डिङ सेन्टरमा राखेर परीक्षण हुन्छ । तर, अहिले संक्रमण धेरै भएको काठमाडौंबाट आउने व्यक्तिको कुनै ट्रेसिङ पनि छैन । त्यसले संक्रमण थप फैलिने जोखिम छ । र, यी सबै कुराको व्यवस्थापमा खटिँदा कतिवेला संक्रमित भइयो थाहै भएन ।

आमनागरिक महामारीबाट जोगिन केमा चुक्दो रहेछौं ?

धेरै विषयहरु व्यवस्थापन गर्नुपर्ने छन् । जिम्मेवारीपूर्वक काम हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।

काठमाडौंबाट आउने र विमानस्थलबाट आउनको केही व्यवस्थापन छैन । भारतबाट लुकिछिपी आएका मानिस पनि पिसीआर गराएर गाउँ डुलिरहेको अवस्था छ । व्यवसाय गरिरहेको, हिँडिरहेको अवस्था छ ।

संक्रमण भएका मान्छेहरु पनि व्यवस्थित रुपमाले जिम्मेवारीपूर्वक नबसेको अवस्था छ । जतापायो त्यतै पुगेको अवस्था छ । यो केही होइन भन्ने मानसिकता लिएको देखिन्छ । केही हुन्न, ठिक हुन्छ भन्नु राम्रै हो । तथापी, यो एउटा महामारी हो, यो रोग हो भन्ने कुराको हेक्का पनि राख्नुपर्छ ।

किनभने, थुप्रै मानिसको यो रोगले निधन भएको छ । रोगको अवस्था र संक्रमणको अवस्था हेरेर कसैलाई ठिक होला तर, केयरलेस गरेर संक्रमण फैलिएकाले मृत्यु पनि भइरहेको कुरालाई हेक्का राख्नुपर्छ ।

अहिलेको अवस्थामा पनि सचेत भइएन भने जहाँबाट पनि सर्नसक्छ । त्यसैले स्वास्थ्य सुरक्षाका मापदण्डलाई पूर्ण पालना गर्नुपर्छ ।

त्यसैले नजिकिएको दसैँलाई पनि संस्कार, संस्कृतिलाई निरन्तरता दिने गरी घरभित्रका परिवारले मात्र यसपालि मनाउनुपर्छ । यो अवस्था देखावटी गर्नु हुँदैन । अहिले हरेक ठाउँबाट आएर देश विदेशबाट मानिसहरु घरघरमा आएका छन् ।

बुढापाकाको टिका लगाउँदै गर्दा उनीहरु कति जोखिममा छन् भन्ने सोच्नुपर्छ । नभए, जोखिममा रहेका बुढापाकासँग टीका लगाउँदै गर्दा संक्रमणको जोखिममा रहेका उहाँहरुलाई हामीले मृत्युको मुखसम्म लैजाने काम गर्दैछौं भन्ने सोच्नुपर्छ । छोराछोरी भाञ्जाभाञ्जीको नाममा यो काम कदापी गर्नु हुँदैन, सबैले यो विषय बुझ्नुपर्छ, नभए, हामी धेरै पीडामा पुग्छौं ।

अन्तिममा खबरमञ्चमार्फत आमनागरिकलाई के सन्देश दिनुहुन्छ ?

अब सरकारले माइकिङ गरेर यो पालना गर्दिनुस् भनेर मात्र हुँदैन । अब नागरिक आफैं सचेत हुनुप¥यो । जो सचेत भयो, ऊ जोगिन्छ, यो जबरजस्ती गर्छ, नियम पालना गर्दैन, ऊ संक्रमणमा पर्छ ।

कोभिडको विभिन्न स्टेज छ, अलिक गम्भिर खाल्को भयो भने मृत्युसम्म पनि पुग्न सकिन्छ । त्यसैले लापरबाही होइन, सबै सचेत हौं । दशैंलाई बहाना नबनाउँ, दसैं फेरि पनि आउँछ । त्यसैले ज्येष्ठ नागरिक, आमाबुबा र दीर्घ रोगीलाई बचाउन तिर लागौं ।

त्यसैले दसैंलाई घरघरमा मात्र सीमित गरौं । आर्शिवाद फोनबाटै लिए पनि हुन्छ । एउटा घरबाट अर्को घरमा टिका लगाउन नजाउँ । भिडमा नजाउँ । जुवातास नखेलौं । पुजाआजामा भिडभाड नगरौं ।

यो पर्नेलाई अफ्ठ्यारो हुन्छ, नपरुञ्जेल मात्र हल्का लिँइदो रहेछ । स्वभाविक होला, नपर्नेले केही होइन भन्नु पनि । तर, म के भन्छु भने अहिले मलाई गाह्रो भयो भने अस्पतालमा धेरै सोर्स लगाउनुपर्ने अवस्था छ । मेयर हुँदा पनि अहिले अरुले अस्पतालमा अक्सिजन, डाक्टर र औषधि पाइँदैन । भनेपछि यो महामारी छ कति गम्भिर अवस्थामा छ भन्ने सबैले सोच्नुपर्छ ।

आन्तरिक अवस्था के छ बुझ्नु पर्छ । अहिले ज्वरो आएको मान्छेहरु उपचार नपाएर मरिरहेको अवस्था छ । नगरमा पनि उपचार नपाएर दुई जना बच्चाको मृत्यु भइसक्यो । जसलाई रोग भएको छ उसले मात्र भोग्ने होइन, सबै सचेत हुनुपर्छ, देखेर सिक्नुपर्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

२४ घण्टामा ३ सय ३६ जना कोरोना संक्रमित थपिए

Read More →