Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

‘गाउँपालिका कार्यालयभित्र एक कप चिया पनि पिउँदिन तर पेशागत मर्यादा भित्र रहेर सहकार्य गर्छु’

१७ असाेज,   उमाकान्त खनाल,   at 3:31 PM

By   /  October 3, 2020  /  Comments Off on ‘गाउँपालिका कार्यालयभित्र एक कप चिया पनि पिउँदिन तर पेशागत मर्यादा भित्र रहेर सहकार्य गर्छु’

    Print       Email

शारीरिक तन्दुरूस्तीका लागि बिहान/बिहान नियमित ब्याडमिन्टन खेल्ने एकजना साथी मेरै स्थानीय सरकारका एकजना जनप्रतिनिधि हुनुहुन्छ- कमल उप्रेती।

उहाँसंग खेल्ने मात्र होइन, समसामयिक विषयमा पनि चर्चा हुन्छ। स्थानीय सरकारका कामका बारेमा पनि चर्चा हुन्छ। मैले जहिले भने, ‘स्थानीय सरकारका जनप्रतिनिधिसंग नियमित भेटघाट गर्ने र सुझाव आदान-प्रदान गर्ने तालिका बनाउँ न।’

मैले उहाँलाई मात्र होइन, बुद्धशान्ति गाउँपालिका वार्ड नं १ का अध्यक्ष मिनकुमार श्रेष्ठलाई पनि अनुरोध गरें। स्थानीय सरकारका कामका बारेमा जनतालाई सूचना दिउँ भन्ने मनसायले।

बुधबारेको चिया गफ हुने स्थान ‘बालुवाटार’मा एक पटक भनें, ‘मिनजी, यो परम्परा बसाउँ। प्रेसलाई स्थानीय सरकारका कुरा सुन्ने र हाम्रा कुरा सुनाउने मौका दिनुहोस्।’

उहाँले भन्नुभयो, ‘तपाईंका कुरा एकदम ठिक छन्। तर, खोइ, के मिल्दैन मिल्दैन। मैले कुरा गरेकै हुँ आजसम्म तपाईंहरूसंग बस्न सकिएको छैन।’

बुद्धशान्ति गाउँपालिकामा बसोबास गर्ने सञ्चारकर्मीहरूको एउटा संस्था ‘बुद्धशान्ति प्रेस क्लब’ गठन भइसकेपछि सबै सञ्चारकर्मीले गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल, उपाध्यक्ष मिरा भुर्तेल तथा प्रमुख प्रशासकीय अधिकृत इन्द्र चापागाईंसंग संयुक्त भेट गर्यौं।

भेटमा धेरै कुरा भए। हामीले भन्यौं ‘गाउँपालिकाका हरेक सार्वजनिक महत्वका विषयमा हामीलाई जानकारी होस्। तपाईं कार्यक्रम गर्नुहुन्छ तर हामीलाई खबर गर्नुहुन्न। सूचना नलुकाउनु होस्। जनताले थाह पाउने माध्यम सञ्चार माध्यम हो। यो कुरामा जनतालाई सूचना पाउने अधिकारबाट बञ्चित नगराउनु होस्।’

तर आजका मितिसम्म गाउँपालिका कार्यालयबाट कुनै पनि कार्यक्रमका बारेमा सञ्चारकर्मीलाई जानकारी दिइएन/दिइएको छैन।

भन्दा म आफैं लज्जित हुन्छु। स्थानीय सरकार गठन भएको यत्रो बर्ष बित्यो तर मेरो स्थानीय सरकारलाई ‘प्रेस’ के हो थाह छैन।

हामीले पटक/पटक भन्यौं, ‘सबै स्थानीय सरकारले आफ्ना क्षेत्रका पेशागत संगठनका मानिसहरुलाई सम्पत्ति ठान्छ। हामी हाम्रो सरकारका सम्पत्ति हौं।’

तर आजका मितिसम्म बुद्धशान्ति गाउँपालिकामा स्थायी बसोबास गर्ने सञ्चारकर्मीले दुःखका साथ भन्छौं ‘हाम्रा लागि स्थानीय सरकार छैन।’

पछिल्लो समयमा गाउँपालिकाले खरिद गरेको गाडी प्रकरण निकै चर्चामा आयो। समाचार लेखियो। त्यस्का परिणाम पनि आए। दलका बैठक बसे। अहिले उक्त गाडी ‘घाँटीमा अड्केको हड्डी’ जस्तै भयो।

दुई ठूला दल नयाँ गाडी किन्ने पक्षमा थिएनन्। तर किन किनियो गाडी ? प्रश्न उठाउन पाउने कि नपाउने?

जनतालाई जानकारी दिनु पर्छ कि पर्दैन? गाउँपालिकाले निर्माण गर्ने भनिएको अस्पतालका लागि निशूल्क जग्गा प्राप्त गर्न सार्वजनिक सूचना निकाल्ने अनि बिलासिताका लागि करिब ६७ लाख रुपैयाँ जनताका पैसा खर्च गर्ने? नैतिकताले दिन्छ?

मूल कुरा यिनै हुन्। कम्तीमा सरोकारवाला निकाय तथा विषयगत विज्ञसंग छलफल गरेर अगाडि बढेको भए यस्ता समस्या कम आउने गर्छन्। तर ‘सबै कुरा हामी जान्ने’ भनेजस्तो भएकाले समस्या आयो।

मैले त बुद्धशान्ति गाउँपालिका कार्यालय भित्र एक कप चिया पनि नपिउने निर्णय गरेको छु। तर पनि पेशागत मर्यादा भित्र रहेर सहकार्य गर्न तयार छु। तर कानुन, नैतिकता र मर्यादाविपरितका काम मैले थाह पाएसम्म उजागर गर्छु। त्यो मेरो पेशागत धर्म हो।

रह्यो कुरा मैले लेखेको समाचारमा उपाध्यक्षज्यूलाई लाञ्छना लगाइएको कुरा। त्यो कुरा मैले आफैं लेखेको होइन। अध्यक्षज्यू रमेशकुमार भुजेलले बोलेको कुरा लेखेको हुँ। उहाँ स्थानीय सरकार प्रमुख हुनुहुन्छ। उहाँका कुरा आधिकारिक हुन्छ। त्यस्को प्रमाण मसंग सुरक्षित छ।

फेरि पनि म मेरो स्थानीय सरकारप्रति आगामी दिनमा सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्छु। तर पेशागत मर्यादा भित्र रहेर। विगतका गल्ती मेरो स्थानीय सरकारले नदोहोर्याओस्। मेरा कमजोरी छन् भने सदैव स्वीकार गर्ने मेरो बानी छ। तर, सरकारको काम जनताको भलाइका लागि हो, पीडा दिनलाई होइन।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्रीकाे ‘रअ’ प्रमुखसँगको भेटले राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ भयोः गगन थापा

Read More →