
वीरगञ्ज । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ ।
भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन ।
रु २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले राससलाई बताए ।
कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत उक्त मल मगाएको हो । सो मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’मा यत्रतत्र छरिएको अवस्थामा छ ।
उक्त मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्टट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो तर उक्त मल भिजेको र डल्लो परेकाले भन्सार जाँचपास गर्न अयोग्य भएको भनेर जाँचपास हुनसकेको छैन ।
सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइपु¥याएको र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुनसक्ने प्रमुख लामिछानेले राससलाई भने, “भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्ज आएकाले सोको जिम्मा नेपाल सरकार र कर्पोरेशनले जिम्मेवारी लिदैन ।”