
काठमाडाैं । प्रचण्ड-नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम विवादसम्बन्धी सर्वोच्चको फैसला सोच्नै नसक्ने खालको भएको टिप्पणी गरेका छन्।
आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै उनले सर्वोच्चको एउटा इजलासले गरेको यो फैसलाले ‘कमन सेन्स’ भएका सवैलाई आश्चर्यचकित र स्तब्ध बनाएको बताएका छन्।
प्रवक्ता श्रेष्ठले रिट निवेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित विषयमा प्रवेश गरेर सर्वोच्च अदालतले फैसला गरेको जिकिर गरेका छन्।
‘रिट निवेदकले हामी तत्कालीन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टीको निर्माणबारे प्रश्न उठाएको छैन र उठाउनसक्ने विषय पनि होइन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘रिट निवेदकले पार्टीको नामको विषयमा मात्र प्रश्न उठाएर मागदावी गरेको छ। त्यतिमै सीमित भएर निर्णय दिएको ठीक बेठीक जे भए पनि स्वाभाविक हुनेथियो। तर, यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ।’
फैसला अस्वाभाविक, संविधान एवं कानुनविरुद्ध, राजनीतिक आग्रह प्रेरित, वितण्डतापूर्ण र गलत रहेकोले आफूहरुको असहमति रहेको उनले बताएका छन्।
नेकपा नाम विवादसम्बन्धमा सर्वोच्चले गरेको फैसलाबारे सोमबार बस्ने स्थायी कमिटीको बैठकबाट आवश्यक निर्णय लिइने प्रवक्ता श्रेष्ठले बताएका छन्।
सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को वारेमा गरेको फैसला ,त्यसको समग्र पक्ष…
Posted by Narayan Kaji Shrestha on Sunday, March 7, 2021