
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताएका छन् ।
५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै उनले अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्ष यो दिवस साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नाराका साथ मनाउन लागिएको छ ।
साक्षर नेपाल अभियानलाई प्रभावकारी तवरले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग समन्वयात्मक प्रयास आवश्यक रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।