Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

विश्व साइकल दिवसः खिया लागेको साइकल घरबाट निकालौं, सफा गरौं, हावा भरौं र चलाऔं

२० जेठ,   बिनोद दहाल (तुलसी),   at 7:53 AM

By   /  June 3, 2019  /  Comments Off on विश्व साइकल दिवसः खिया लागेको साइकल घरबाट निकालौं, सफा गरौं, हावा भरौं र चलाऔं

    Print       Email

‘यात्रा’ मानव जीवनको अत्यावश्यक क्रियाकलाप हो । दैनिक जीवन यापनका लागि होस् या मनोरञ्जनका लागि, आफन्त भेटघाट होस् अथवा रोजगारीका लागि । अझ किनमेल र अन्य कुनै पनि प्रयोजनमा हामीले एक ठाउँबाट अर्को ठाउँको यात्रा गर्नैपर्ने हुन्छ । आदिमकालमा धर्तीका सबै मानवजाती पैदल यात्रा गर्ने गर्दथे । हिन्दु धर्म ग्रन्धलाई आधार मान्ने हो भने भगवानहरुले यात्राका लागि फरक–फरक वाहन प्रयोग गर्ने गरेको पाइन्छ । जस्तै— मयूर, घोडा, मुसा आदी । कालान्तरमा प्रविधि विकाससँगै यातायातका विभिन्न साधनको विकाश हुँदै गयो जसले गर्दा आजको हाम्रो यात्रा निकै सजिलो, छिटो–छरितो अनि आरामदायी हुँदै गइरहेको छ ।

विश्व साइकल दिवसका अवसरमा आज हामी यहाँ यिनै यातायात साधनमध्येको एक साइकलका बारेमा केही चर्चा गरौं । दुइवटा मात्र चक्काको भरमा सन्तुलन गरेर चलाउन सकिने यो सवारी साधन अठारौं शताब्दीमा जर्मन नागरिकले पहिलोपटक प्रचलनमा ल्याइएको खोजकर्ताले दावी गरेका छन् । सोहि दशकको मध्यतिर फ्रान्सेलीहरुले  यो दुई चक्के सवारी साधनलाई ‘साइकल’ भनि नामाकरण गरेका थिए । व्यवसायिक रुपमै साइकलको पहिलो पटक उत्पादन/आविस्कार गर्ने श्रेय भने जर्मन नागरीक कार्ल भान ड्राइस (karl van Drais) लाई जान्छ । प्रायजसो भागहरु काठबाट बनाइएको उक्त साइकलको तौल २२ किलोग्राम थियो जसको प्रयोग जर्मनी, फ्रान्स र उत्तर अमेरिकाबाट शुरु भई बिश्वका अन्य भागमा फैलदै गएको पाइन्छ ।

नेपालमा पनि साइकल निकै लोकप्रिय सवारी साधनको रुपमा प्रयोगमा आएको पाइन्छ । बिशेषत तराइ–मधेशका सर्वसाधारणले साइकलको प्रयोग गर्ने गरेका छन् । तुलनात्मक रुपमा सस्तो, शारीरिक परिश्रमद्धारा चलाउन मिल्ने, कुनै प्रकारको इन्धनको आवश्यकता नपर्ने, चालक अनुमति पत्रको आवश्यकता नपर्ने, अन्य सवारीसाधनजस्तो दर्ता गर्नु नपर्ने आदि कारण पनि साइकल लोकप्रिय बनेको हो । साना बालबालिकादेखि बृद्धबृद्धासम्म सबैले सजिलै सगँ चलाउन सक्ने यो सवारी साधनको प्रयोगले यातायात र सानातिना सरसामानको ढुवानीमा ठुलो सहयोग पुर्याउनुका साथै वातावरण र मानव स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पारेको छ ।

यो विवरणलाई पढिरहँदा तपाइ पाठकबृन्दलाई म सोध्न चाहन्छु —“तपाइले कहिलेदेखि साइकल चढ्नु भएको छैन ?” हो, हामीमध्ये धेरैलाई अघिल्लो पटक साइकल चढेको सम्झना नै नहुन सक्छ । हामी कसैले सानो केटाकेटि छँदै साइकल चढेका थियौं, कसैले कलेज जाँदा मात्रै चढेको हो । त्यसपछि भने छैन । कतिपयले भने जागिरे जीवन सुरु भएपछि साइकल चढ्न छाडेका छौ । हामि कतिले भने आफ्नो ब्यापार व्यवसाय सुरु भएपछि, र अलिक फस्टाएपछि साइकल चढ्न छाड्यौं । यसको निचोड के हो भने जब हामी आर्थिक रुपमा सबल बन्दै जान्छौ, समाजमा नेतृत्वदायी भूमिका निभाउदै माथिल्लो ओहोदामा पुग्छौं— तब साइकलको प्रयोगलाई ‘अनावश्यक’ भन्न थाल्छौं । तराईमा बसोबास गर्ने अधिकांस अभिभावकले साइकल किनेका छौं, तर आफ्नो लागि होइन, आफ्ना बालबच्चाका लागि मात्र । हाम्रा बालबच्चा सानो छँदा खेलौना साइकल, अलि ठुला भएपछि तिनचक्के साइकल, अझ केहि ठुला भए पछि दुइ चक्के साइकल घरमा राख्ने बाध्यता झैं हुन्छ । तर जब हाम्रा छोराछोरी माध्यमिक तथा उच्च माध्यमिक तहमा पुग्छन्, तब ति साइकल प्रयोगबिहिन हुन थाल्छन् । हाम्रो समाजमा संस्कार नै यसरी बिकसित भएको छ कि ठुलो भएपछि साइकल चढ्ने होइन अथवा आफूसँग केहि पैसा कमाई भएको छ भने साइकल चढ्ने होइन ।

“अफिसमा जागिर खान जाँदा कसरी साइकलमा जाने ? बाटोमा साथीभाइले देखेमा के भन्लान ?”,यस्तै सोच र धारणाका बिचमा हराईरहेको छ हाम्रो—साइकल संस्कार ।

निश्चयनै लामो दूरी साइकलमा तय गर्न कठिन हुन्छ । समयको हिसाबले पनि साइकल यात्रा अलि बढी समय लाग्ने नै हुन्छ । अन्य सवारी साधनजस्तो छिटो–छरितो नभएपनि छोटो दुरीको यात्रा तय गर्दा वा ४/५ किलोमिटर क्षेत्रभित्र यात्रा गर्नुपर्दा हामीले साइकलको प्रयोग बढाउन सके यसले वातावरण र हाम्रो स्वास्थ्यमा ठुलो सकारात्मक असर ल्याउन सक्छ । साइकल चलाउनाले मुटुसम्बन्धी समस्या, मष्तिस्क तथा हृदयघात तथा केहि प्रकारका क्यान्सरको खतरालाई न्यूनिकरण गर्न सकिने बिश्व स्वास्थ्य संगठन (WHO) को प्रतिवेदनले प्रमाणित गरिसकेको छ । मधुमेह अर्थात डायवेटिज नियन्त्रणमा समेत यसले ठुलो सहयोग पु¥याएको प्रमाणित भैसकेको छ ।

पोहोर साल अर्थात सन् 2018 मा संयुक्त राष्ट्रसंघको साधारण सभाले June-3rd लाई बिश्व साइकल दिवस ”World Bicycle Day” को रुपमा मनाउने निर्णय गरेको छ । “स्वास्थ्य र स्वस्थ वातावरणका लागी साइकल” भन्ने नाराका साथ आज बिश्वभर साइकल दिवस मनाइँदैछ ।

आउनुहोस्— हामी पुनः एकपटक हाम्रो धुलोले ढाकिएको र खिया लागेको साइकल घरको कुनाबाट निकालौ, सफा गरौं, हावा भरौं र चलाऔं । साइकलको माध्यमले स्वास्थ्यको अनि हाम्रो वातावरणको सुधार गर्न मद्धत गरौं । त्योभन्दा पनि महत्वपूर्ण कुरा “ठूलो भएपछि साइकल चलाउन छाड्नु पर्छ” भन्ने संस्कार बिकाशित भइरहेको यो समयमा त्यसलाई गलत साबित गरौं र, साइकल संस्कारको बिकाश गरौं । साइकल चढ्न शुरु गरेपछि मात्र यसका कठिनाईहरु अलग साइकल लेन, साइकल सुरक्षा जस्ता बिषयमा छलफल शुरु गर्न सकिन्छ ।

बिश्व साइकल दिवस २०१९ को सबैमा हार्दिक शुभकामना ।

लेखक साइकल यात्री तथा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत हुन्

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

झापा बसाईबाट म आफैं पुरस्कृत भएको अनुभूत गरेको छुः उदयबहादुर राना मगर

Read More →