Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

विदेशमा रहेका नेपाली ल्याउनेबारे प्रधानमन्त्रीका लागि सांसद डिला संग्रौलाको ७ सुझाव

१२ असार,   खबरमञ्च,   at 8:10 PM

By   /  June 26, 2020  /  Comments Off on विदेशमा रहेका नेपाली ल्याउनेबारे प्रधानमन्त्रीका लागि सांसद डिला संग्रौलाको ७ सुझाव

    Print       Email

काठमाडौं । नेपाली कांग्रेसकी प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौलाले विदेशमा रहेका नेपाली ल्याउने र तिनको व्यवस्थापनबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुँदागत सुझाव दिएकी छिन्।

सुझावमा उनले विदेशमा अलपत्र रहेका नेपालीहरुलाई चाँडो स्वदेश ल्याइसक्नुपर्ने बताएकी छिन्।

उनले सुझावमा लेखेकी छिन्, ‘कोरोनाको कारण रोजगारी गुमाएर स्वदेशको पखाईमा रहेका थुप्रै नेपालीहरु अहिले पनि विदेशमा अलपत्र र अप्ठ्यारो परिस्थितीमा छन् । यसमा पनि विशेष गरेर खाडी मुलुकमा काम गर्न गएका खल्तीमा पैसा नहुने, नेपालबाट मगाउन नसक्ने, टिकटको जोहो गर्न नसक्ने अवस्थामा रहेका बेसाहारा नेपाली कामदारहरु स्वदेशकै पखाईमा पीडाबोध साथ बसिरहेका छन् ।

अन्य मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था पनि करिव–करिव यस्तै देखिन्छ । यसै सन्दर्भलाई लिएर कोरोना महाव्याधिका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न नेपाली कांग्रेसका सांसद माननीय गगन थापा प्रस्तावक तथा सांसद माननीय प्रकाश स्नेही र म समर्थक रहेको सार्बजनिक महत्त्वको प्रस्ताव २०७७ बैशाख २९ गते प्रतिनिधि सभामा दर्ता गरेका थियौं । उक्त प्रस्तावमाथि छिट्टै छलफल हुने विश्वास लिएका छौं । त्यस्तै मैले माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मंत्रीज्यूलाई गएको २ महिना भित्र २ पटक भेटेर विदेशमा अलपत्र परेका नेपालीहरुलाई छिटो स्वदेश फिर्ता ल्याउनेबारे मैले ज्ञापन पत्र बुझाएँ ।

त्यसयता सरकारले चार्टर्ड उडानगरी खाडी लगायतका मुलुकहरुबाट नेपालीहरूलाई स्वदेश ल्याउने क्रम शुरु गरेको छ, जुन स्वागतयोग्य छ । तर चार्टर्ड विमानको चर्को भाडा, मनोमानी रुपमा भाडा निर्धारण गर्न मन्त्रालयस्तरबाटै संस्थागतरुपमा मिलेमतो गरिएको आशंका तथा बेखर्ची, गर्भवती, तथा बिरामी नेपालीहरुलाई निशुल्क स्वदेश फिर्ता ल्याउनेबारे सरकारले कुनै ठोस पहल गर्न सकेको छैन ।

त्यसैले अझै विदेशमा अलपत्र अवस्थामा रहेका दशौँ हजार नेपालीहरुलाई जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउनका लागि निम्न अनुसारका कामहरु गर्न आवश्यक भएकाले यो ध्यानाकर्षण पत्र मार्फत तपाईंको ध्यानाकर्षण गर्न चाहन्छु ।

अहिले विभिन्न मन्त्रालयहरुबीच समन्वयको पनि समस्या देखिएकाले सम्बन्धित सबै निकायहरुलाई बोलाएर विदेशमा अलपत्र परेका नेपालीहरुलाई व्यवस्थित रुपमा जति सक्दो चांडो स्वदेश फिर्ता ल्याउन निर्देशन दिनु हुन आग्रह पनि गर्दछु ।

१) विदेशमा काम गर्न गएर अलपत्र परेका, समस्या भोगेका, भीसा र करारको म्याद सकिएका कामदारलाई जति सक्दो छिटो स्वदेश ल्याउन सरकारले अविलम्ब पहल गरोस् । त्यसको लागि सर्बप्रथम जुन कम्पनीमा कामदार कार्यरत छन्, तिनैलाई उद्धार गर्न लगाउनुपर्छ । यदि सम्बन्धित कम्पनीले उद्धार गर्न सकेन वा चाहेन भने सम्बन्धित देशको सरकारलाई गराउनुपर्छ । सम्बन्धित देशको सरकारले पनि गरेन भने नेपाल सरकारले उहांहरुलाई ल्याउनुपर्छ । ढिलाई गर्नुहुदैन ।

२) वैदेशिक रोजगारमा गएर अलपत्र परेका कामदारहरुलाई उद्धार गर्ने अन्य कुनै कोष वा सहयोग नभएमा सर्वोच्च अदालतले असार १ गते गरेको अन्तरिम आदेशअनुसार राज्य कोषबाट प्राथमिकताका आधारमा अलपत्र परेका नेपालीहरुको तत्काल उद्धार गरियोस् ।

३) कोभिड– १९ बाहेकको कारण समस्यामा परेका, बिरामी, घाइते, गर्भवती, सुत्केरी तथा अन्य नेपाली कामदारको उद्धारको लागि पनि पहिला कम्पनी, त्यसपछि सम्बन्धित देशको सरकार र नभए नेपाल सरकारले उद्धार गर्न सरकारले अबिलम्ब कार्य योजना ल्याओस् ।

४) विदेशबाट नेपाली कामदारको उद्धार गरेर ल्याउनु अघि उनीहरुले पाउनुपर्ने तलब, बीमा, उपदान, बिरामी विदा लगायतका सुविधा पाए-नपाएको पत्ता लगाएर नपाएको भए सरोकारवाला कम्पनीहरुलाई दिन लगाउने व्यवस्था मिलाइयोस् ।

५) स्वदेश ल्याईसकेपछि सक्ने कामदारले क्वारेन्टीनको व्यवस्था आफै गरे पनि नसक्ने कामदारको लागि सम्बन्धित प्रदेश सरकार तथा पालिकाहरुसंग समन्वय गरी निशुल्क क्वारेन्टीनको व्यवस्था मिलाइयोस् ।

६) मानवीय दृष्टिकोणले पनि कोरोना बाहेकका कारणले ज्यान गुमाएका नेपाली श्रमिकहरुको शव व्यवस्थापन तत्कालै गर्न आवश्यक छ । दाहसंस्कारका लागि स्वदेश ल्याउने वा सम्वन्धित मुलुकमै गर्ने विषयमा परिवारसंग स्वीकृत लिई यो काममा बिलम्ब गर्न हुंदैन । यो अत्यन्तै मानवीय संवेदनाको विषय भएकाले सरकार बढी नै संवेदनशील हुन जरुरी छ ।

७) तत्काल नेपाल फर्किन नचाहने तथा गन्तब्य मुलुकमा काम गरिरहेका श्रमिकहरुको हक, उनीहरुको खाना, बस्न, औषधी–उपचार, तलब लगायतको सेवा सुविधाको ग्यारेन्टी भए-नभएको सम्बन्धित नेपाली दूतावासहरु मार्फत बुझ्न लगाई यदि ती सुविधा नभएको भए दिलाउने व्यवस्था गरियोस् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुरक्षाका आवश्यक मापदण्डहरु अपनाई ट्याक्सी सञ्चालन गर्न संसदीय समितिको निर्देशन

Read More →