
एजेन्सी । अमेरिकाले म्यानमारमा गरिएको सत्तापलट र प्रजातन्त्र पक्षधर नेताहरुको गिरफ्तारीको कडा शब्दमा बिरोध गरेको छ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक प्रक्रियालाई कमजोर पार्न गरिएको गिरफ्तारीको विरोध गरेको हो ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपति जो बाइडेनलाई म्यानमारको अवस्थाबारे ब्रिफिङ गरेको पनि जनाइएको छ ।
ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘बर्माका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो बलियो साथ छ र त्यहाँको सेना र अरू सबै सरोकारवालाहरूलाई प्रजातान्त्रिक मूल्यमान्यतालाई पालना गर्न र नियन्त्रणमा लिइएका सबैलाई तत्काल रिहा गर्न माग गर्छौं ।’
नोभेम्बरको चुनावी परिणाम नमान्ने र बर्माको प्रजातान्त्रिक प्रक्रियालाई रोक्ने कुनै पनि कुरा आफूलाई अमान्य हुने ह्वाइटहाउसले प्रष्ट्याएको छ ।
आवश्यक कदम चाल्ने चेतावनी दिइएको विज्ञप्तिमा भनिएको छ, ‘हामीले परिस्थितिलाई नजिकबाट नियालिरहेका छौं । लामो समयदेखि प्रजातन्त्र र शान्तिका लागि धेरै कुरा सहँदै आएका बर्मेली जनताको पक्षमा छौं । सेनाले अहिलेको कदम फिर्ता नलिए हामी आवश्यक कदम चाल्नेछौं ।’