
बीबीसी । चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाउन थालेको भारतको निसानामा लोकप्रिय चिनियाँ ई-कमर्सको माध्यम अलिएक्सप्रेस पनि परेको छ।
साइबर सुरक्षाको कारण देखाउँदै भारतले थप ४३ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाएको छ। यससँगै भारतको प्रतिबन्धमा २२० वटा चिनियाँ एप परेका छन्। किनकी यसअघि भारतले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै ११८ वटा चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो ।
सीमा विवादका कारण उत्पन्न तनाव मत्थर पार्न दुई देशले प्रयास गरिरहेको बेला भारतले यो कदम चालेको यो। गत जुन महिनामा २० भारतीय सैनिकको ज्यान जानेगरी भएको सङ्घर्षपछि दुई देशबीच तनाव उत्कर्षमा पुगेको थियो।
भारत सरकारले ती एपहरू भारतको “स्वायत्तता र अखण्डता” मा आघात गर्ने गतिविधिमा संलग्न भएको दाबी गरेको छ। चिनियाँ राजदूतावासका प्रवक्ताले भारतले फेरि राष्ट्रिय सुरक्षाको “निहुँ” पारेको टिप्पणी गरेका छन्। उनले आफूहरूले “निष्पक्ष र बिनाभेदभाव व्यापारिक वातावरण” को “अपेक्षा” गरेको बताएका छन्।
विश्लेषकहरूले गोपनीयताका कारणभन्दा पनि चीनलाई प्रतिक्रियास्वरूप यो प्रतिबन्ध लगाइएको धारणा व्यक्त गरेका छन्।