Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा प्रहरी ‘इन्काउन्टर’मा बलात्कार घटनाका चार सन्दिग्ध व्यक्तिहरुको मृत्यु

२० मंसिर,   खबरमञ्च,   at 11:47 AM

By   /  December 6, 2019  /  Comments Off on भारतमा प्रहरी ‘इन्काउन्टर’मा बलात्कार घटनाका चार सन्दिग्ध व्यक्तिहरुको मृत्यु

    Print       Email

एजेन्सी । दक्षिण भारतको हैदराबादमा एक पशुचिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार सन्दिग्ध व्यक्तिहरूको प्रहरी इन्काउन्टरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले उनीहरूलाई बुधवार आफ्नो नियन्त्रणमा लिएको थियो । उनीहरूलाई १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो ।

तेलङ्गाना प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार शुक्रवार बिहान तीन बजेतिर उनीहरूको एउटा “भिडन्त”मा मृत्यु भएको हो । घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ ।

तीन चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको स्थानमा लगेर अनुसन्धान गर्न खोजेको हैदराबादका प्रहरी प्रमुख भीसी सज्जनारले बीबीसी तेलुगूलाई बताएका छन् ।

त्यहाँ उनीहरूले आफूमाथि आक्रमण गर्न खोजेपछि प्रतिकार गरेको र भिडन्त भएको प्रहरीको दाबी रहेको बीबीसीले जनाएको छ ।

प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले गोली हानिएको प्रहरीले जनाएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

गत साता ती पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतमा चर्को आक्रोश उत्पन्न भएको थियो । सडकदेखि संसद्‌सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो ।

रक्षामन्त्री राजनाथ सिंहले उक्त घटना भारतका लागि लज्जास्पद भएको टिप्पणी गरेका थिए । उनले घटनाको निन्दा गर्ने उचित शब्द आफूसँग नभएको बताएका थिए ।

गत साता पीडित महिलाको परिवारले प्रहरीले समयमै कारबाही नगरेको आरोप लगाएपछि तीन प्रहरी अधिकारी निलम्बनमा परेका थिए ।

पीडित महिला सम्पर्कविहीन भएको उजुरी गर्न जाँदा प्रहरीहरूले उनी भागेको हुन सक्ने भन्दै टिप्पणी गरेको उनका नातेदारले राष्ट्रिय महिला आयोगलाई बताएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पाकिस्तानका प्रधानमन्त्री इमरानले भने, ‘बलात्कारीलाई सार्वजनिक चोकमा झुण्ड्याएर मार्नुपर्छ’

Read More →