
बैतडी । प्रहरीले बैतडीकी १७ बर्षीय युवती भागरथी भट्टको बलात्कार र हत्याका अभियुक्त सार्वजनिक गरेको छ । बैतडी जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा प्रहरीले दिनेश भट्टले अपराध स्वीकारेको जानकारी दियो । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा दिनेश बाहेक अरु कोही संलग्न नदेखिएको बताए।
दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए। हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।
‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ,’ उनले भने ।
प्रहरीले १३ दिन लामो अनुसन्धानपछि दोषी पक्राउ गरी सार्वजनिक गरेको हो ।
भागरथीहत्याको अनुसन्धानमा डीआईजी उत्तमराज सुवेदी,एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्लाप्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी लगायत थिए ।
यस्तो छ साविति बयान
म मध्यान्तरमा स्कुलमा (सनातन धर्म मावि) भलिबल खेलेर घर आए । त्यसपछि खोचलेकमा मेरो भागरथीसहितका अरु तीनजना आफ्नै गाउँका युवाहरुसँग भेट भयो । उनीहरु कपाल काट्न थाले । म त्यहाँबाट घरतिर हिँडे । मैले सिल्ल भन्ने स्थानमा भागरथीलाई भेटे र म फटाफट ती भन्दा अगाडि घरतिर लागे । घटनास्थल भएको स्थानमा म भागरथी भन्दा अगाडी नै पुगिसकेको थिए । केही बेरमा भागरथी आइन। उनले पुग्ने वित्तिकै मैले सडकबाट धक्का दिएर सानो खोल्सोमा (जहाँ शव भेटिएको थियो) लडाए । उ लडी र घाइते भइ । अनी मैले घाँटी थिचेर मारिदिए । त्यसपछि म घर हिँडे ।
दिनेशले भागरथीको हत्या गरेको साविति बयान दिएपनि उनले बलात्कारका बारेमा भने मौनता देखाएको प्रहरीले जनाएको छ ।