
झापा । भद्रपुरमा काँग्रेस–माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपाले विजयी सुरुवात गरेको छ ।
भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडा अध्यक्षसहित प्यानल नै जितेको छ । राप्रपाबाट उम्मेदवार बनेका ३४ वर्षीय युवा हेमबहादुर कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
उनले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका शमशेर तामाङ र एमालेका कमला थुलुङलाई पराजित गरेका हुन् ।
तामाङ काँग्रेसका वडा सभापति हुन भने थुलुङ निवर्तमान वडा अध्यक्ष हुन् । कार्कीले १०१४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तामाङले ९४५ र थुलुङले ८३७ मत ल्याएका छन् । त्यस्तै खुला वडा सदस्यमा राप्रपाबाट पूर्णमाया सुब्बा लिम्बु ९५५ र मुदिलाल गणेश ९७३ मत ल्याई निर्वाचित भएका छन् ।
महिला सदस्यमा भुबामाया थापा पुलामी ९५५ र दलित महिला सदस्यमा शोभा दर्जी १००९ मत ल्याई राप्रपाबाटै निर्वाचित भएका छन् ।