Loading...
You are here:  Home  >  छापामा  >  Current Article

बागमती प्रदेशद्वारा स्थानीय तहका जनप्रतिनिधिको आर्थिक सुविधा दिने राजपत्र प्रकाशित

१३ बैशाख,   खबरमञ्च,   at 7:29 AM

By   /  April 25, 2020  /  Comments Off on बागमती प्रदेशद्वारा स्थानीय तहका जनप्रतिनिधिको आर्थिक सुविधा दिने राजपत्र प्रकाशित

    Print       Email

काठमाडौं । दुनियाँ र देश कोभिड-१९ महामारीविरुद्ध संघर्ष गरिरहेको वेला बागमती प्रदेशले स्थानीय तहका जनप्रतिनिधिको आर्थिक सुविधा दिने राजपत्र प्रकाशित गरेको छ।

यसअघि जनप्रतिनिधिले लिँदै आएको पारिश्रमिक गैरकानुनी भनेर सर्वोच्च अदालतले खारेज गरिदिएपछि बागमती प्रदेशले सेवासुविधाको शीर्षकमा नगद दिने गरी कानुन बनाएको खबर आजको नयाँ पत्रिका दैनिकमा शान्ति तामाङ र सुदीप सिवाकोटीले लेखेका छन्।

विश्वभर महामारी फैलिन थालेपछि नेपालमा रोकथामका लागि के तयारी भइरहेको छ भनेर सबैले सरकारको मुख ताकिरहेका थिए, ११ चैतबाट देश लकडाउनमा गयो ।

तर, ६ चैतमा प्रदेश सरकारले हतारहतार प्रक्रिया पूरा गरेर कानुन पास गराएको थियो । प्रक्रियाबाट छलफल गर्दा ढिलो हुने भएपछि सभामुख सानुकुमार श्रेष्ठले नियम निलम्बन गरेर कानुन पारित गराएका थिए । त्यही कानुन अहिले राजपत्रमार्फत जारी भएको छ ।

बागमती प्रदेशका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी पहिलो संशोधन ऐन, २०७६ पारित गरेपछि अब जनप्रतिनिधिको तलब–सुविधा बढेको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको विधेयकमाथि सत्तापक्ष नेकपाका सांसद माधव पौडेलको नेतृत्व रहेको प्रदेश मामिला समितिमा छलफल भएको थियो । समितिले दफावार छलफलपछि पदाधिकारीको सुविधा बढाउने विधेयक पारित गरेको थियो।

मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले विधेयक संसद्मा पेस गरेका थिए । जनप्रतिनिधिको सेवासुविधा बढाउन कानुन पास भएलगत्तै संसद् स्थगित मात्र गरिएन, पाँचौँ अधिवेशन नै अन्त्य भएको घोषणा भयो ।

तर, सर्वोच्च अदालतले भने जनप्रतिनिधिलाई तलब–भत्ता दिने व्यवस्था खारेज गरिदिएको थियो । तर, बामगती प्रदेशले तलब–भत्ताको सट्टा विभिन्न शीर्षक राखेर आर्थिक सुविधा दिने कानुन बनाएको छ।

मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्यलाई खानेपानी, बिजुली, सरसफाइ र मर्मतको मात्र होइन, दैनिक खाजा र अतिथि सत्कारको खर्च पनि राज्यको ढुकुटीबाट दिने व्यवस्था गरिएको छ।

उनीहरूलाई बैठकभत्ता, टेलिफोन खर्च, खाजा खर्च, पुस्तक, पत्रपत्रिका, इन्टरनेट, समन्वय तथा अनुगमन भत्ता, खानेपानी, बिजुली शुल्क, सरसफाइ, मर्मत र अतिथि सत्कारका लागि अलगअलग रकम छुट्याइएको छ । सर्वोच्चको आदेश छल्न यसलाई सुविधा भनिएको छ, पारिश्रमिक भनिएको छैन।

तर, यसो गर्दा ढुकुटीबाट पहिलेभन्दा पनि बढी रकम खर्च हुने भएको हो । यसअघि वडा सदस्यलाई यस्तो आर्थिक सुविधा नभए पनि अब उनीहरूलाई पनि सुविधा छुट्याइएको छ।

यसअघिको गाउँपालिका अध्यक्षले मासिक तलब ३० हजार रुपैयाँ पाउने व्यवस्था भएकोमा अब विभिन्न १४ शीर्षकबाट ३५ हजार रुपैयाँ पाउनेछन् । जिल्ला समन्वय समितिका प्रमुखले ४२ हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था भएकोमा अब विभिन्न शीर्षकमा ४५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।

त्यस्तै, नगरपालिकाका मेयरले ३५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउँदै आएकोमा अब ४० हजार, उपमहानगरपालिकाका मेयरले ४० हजार रुपैयाँ पाउँदै आएकोमा अब ४३ हजार, महानगरपालिकाका मेयरले ४२ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएकोमा अब ४५ हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

ओलीमाथि थप दबाब बढाउँने तयारीमा प्रचण्ड-नेपाल पक्ष, ओलीको रणनीति के छ?

Read More →