Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश ५ काे आर्थिक वर्ष २०७७/०७८ काे बजेट ३६ अर्ब ३५ करोड २५ लाख

१ असार,   रासस,   at 8:39 PM

By   /  June 15, 2020  /  Comments Off on प्रदेश ५ काे आर्थिक वर्ष २०७७/०७८ काे बजेट ३६ अर्ब ३५ करोड २५ लाख

    Print       Email

बुटवल ।  प्रदेश नं ५ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु ३६ अर्ब ३५ करोड २५ लाखको बजेट सार्वजनिक गरेको छ ।

बजेटले कोभिड –१९ ले प्रभावित पारेको अर्थतन्त्रलाई उकास्ने गरी स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभामा प्रस्तुत गरेकाे आब २०७७/०७८ को बजेट चालु आवको बजेटभन्दा झण्डै रु पाँच करोडले कम छ ।

प्रदेश सरकारले चालु आवका लागि अघिल्लो वर्ष रु ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको थियो । प्रस्तुत बजेटको कूल विनियोजनमध्ये चालुतर्फ रू १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार अर्थात् ३४.६४ प्रतिशतर पूँजीगततर्फ रू १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार अर्थात् ५१.२२ प्रतिशत छ ।

यस्तै स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू पाँच अर्ब १४ करोड ५० हजार विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणको अंश कूल विनियोजित बजेटको १४.१४ प्रतिशत छ ।

आगामी आर्थिक वर्षका लागि आन्तरिक राजश्वबाट रू दुई अर्ब तीन करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रू ११ अर्ब ३४ करोड दुई लाख, रोयल्टी बाँडफाँटबाट रू ८८ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट रू सात अर्ब ६३ करोड ७१ लाख र सशर्त अनुदानबाट रू पाँच अर्ब ८१ करोड ३६ लाख खर्चको स्रोत अनुमान गरिएको छ ।

यस्तै समपूरक अनुदानबाट रू ४८ करोड ३३ लाख, विशेष अनुदानबाट रू २१ करोड र चालु आवको बचत रकमबाट रू सात अर्ब ९४ करोड ५० लाख रहने अनुमान गरिएको बजेटमा उल्लेख गरिएको छ । प्राथमिकतामा परेका सशर्ततर्फका आयोजना कार्यान्वयन गर्दै जाँदा स्रोत अपुग भएमा चालु आवमा झैंँ नेपाल सरकारसँग अपुग स्रोतको माग गरिने बताइएको छ ।

समृद्ध प्रदेश र खुशी जनता निर्माण गर्ने सोचका साथ प्रदेशको प्रथम आवधिक योजनाको पाँच वर्षमा ९.५ प्रतिशतको औसत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यमा कोभिड –१९ का कारण चालु आवमा केही अवरोध आए पनि आगामी साउनदेखि जोखिममा कमी आउने र जनजीवन क्रमशः सामान्यवस्थामा फर्कन सक्ने विश्वासका साथ आवधिक योजनाले लिएको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरिने जनाइएको छ ।

प्रदेशको स्वास्थ्य पूर्वाधारमा सुधार आई सेवामा पहुँच वृद्धि हुने, कृषि, उद्योग, पर्यटन, सिंचाइ, खानेपानी, सडक तथा शिक्षालगायत सामाजिक क्षेत्रमा गरिएको लगानीबाट अर्थतन्त्रमा गतिशीलता आई समृद्ध प्रदेश र खुशी जनताको सोच हासिल भई आगामी आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धि हासिल हुने अनुमान बजेटले गरेको छ । कोरोना महामारीले आर्थिक संकट आएका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित भएकाले यस वर्ष प्रदेशको आर्थिक वृद्धिदर दुई प्रतिशतको हाराहारीमा सीमित हुने अनुमान गरिएको मुख्यमन्त्री पोखरेलले बताए ।

यस्तै स्थानीय तहसँगको लागत सहभागितामा स्वास्थ्यचौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, प्रदेश मातहतका सरकारी अस्पतालको पूर्वाधार विकासमा पनि बजेट विनियोजन गरिएको छ ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बढ्ने पर्यटकलाई दृष्टिगत गरी बुद्ध परिपथका स्थानलाई समेटी बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न रू दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । प्रदेशका सबै जिल्लामा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न एक जिल्ला एक पर्यटन गन्तव्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

यस्तै प्रदेशका पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र व्यवस्थापनका लागि सञ्चालित प्रादेशिक संग्रहालयका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘एक केजी सलह किरा ल्याउनु होस्, २० रुपैयाँ लिएर जानुहोस्’

Read More →