
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण परीक्षण पिसिआरको दायरा बढाउन माग गर्दै नेपाली काँग्रेसले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
कांग्रेसले सरकारको उदासिनता, असक्षमता र असंवेदशिलताले कोभिड–१९ संक्रमण वृद्धि हुँदै गएको आरोप लगाएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ध्यानाकर्षण गराउँदै कांग्रेसले सरकारकै कारण जनजीवन थप कष्टकर हुँदै गएकाे जनाएको छ। कोभिड- १९ को परिस्थिति अनुगमन गर्न बनेको समितिका संयोजक डा प्रकाशशरण महतसहितको टोलीले स्वास्थ्यमन्त्री ढकाललाई ध्यानाकर्षण पत्र बुझाएको हो।
कोभिड- १९ नियन्त्रणका लागि सरकारलाई सबै क्षेत्रबाट सहयोग रहँदारहँदै पनि सरकार चुकेको कांग्रेसले जनाएको छ। ‘लामो समयको बन्दाबन्दीमा पनि सरकारले गर्नुपर्ने आन्तरिक तयारीका कार्यहरु गर्न नसक्नुले थप चिन्ता सिर्जना गरेको छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ।
मंगलबार नै अर्थमन्त्री डा युवराज खतिवडालाई पनि ध्यानाकर्षण पत्र बुझाउने कांग्रेसले जनाएको छ। सरकारले गरेका कार्य र तयारीको बारेमा समेत कांग्रेस टोलीले मन्त्री ढकालसँग जिज्ञासा राखेको थियो।