
काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् ।
काेराेना संक्रमण त्रासका कारण सिमित मानिसहरुको उपस्थितीमा आयोजित कार्यक्रममा २० जना प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले उपाधि जितेकी हुन् ।
प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नकाे उत्कृष्ट जवाफ दिएकी नम्रताले उपाधी जितेकी हुन् ।
प्रश्नको जवाफमा नम्रताले आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।
उपाधीसँगै नम्रताले नगद २ लाख ५० हजार र यमाहाकाे स्कुटर पाएकी छन् भने आउँदो बर्ष आयोजना हुने ‘मिस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
यस्तै, यो वर्षको ‘मिस नेपाल सुप्रानेशनल’को उपाधि सिमल कनौजियाले जितेकी छन् । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितेकी छन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि भने सन्ध्या शर्माले हात पारेकी छन् ।
देशभरबाट आएका २ सय भन्दा बढीकाे आवेदनबाट २० जना प्रतिष्पर्धाका लागि छानिएका थिए । जसका सेमिफाइलमा १२ जना र फाइनलमा ६ जना पुगेका थिए ।