
काठमाडौं। दार्चुलास्थित महाकाली नदीमा भारतले एकतर्फी तटबन्ध बनाएको विषयमा नेपालले भारत सरकारलाई कूटनीतिक नोट पठाएको छ। समस्याको स्थायी समाधानका लागि प्रयास गर्नुपर्ने धारणासहित परराष्ट्र मन्त्रालयले भारतीय पक्षलाई मंगलबार कूटनीतिक नोट पठाएको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले कूटनीतिक नोट पठाएको पुष्टि गरिन्। ‘दार्चुला तटबन्धका सन्दर्भमा नेपाल सरकारका तर्फबाट भारत सरकारलाई कूटनीतिक नोट पठाइएको छ,’ लम्सालले भनिन्। यसको विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने उनले बताइन्।
गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि सोमबार साँझ परराष्ट्र मन्त्रालयलाइ चिठी लेखेको थियो। सो चिठीका आधारमा परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको हो। सरकारले प्राविधिक रूपमा समस्याको दीर्घकालीन प्रयास खोज्नुपर्नेमा जोड दिएको छ। नयाँ पत्रिकाबाट