Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

झापा बसाईबाट म आफैं पुरस्कृत भएको अनुभूत गरेको छुः उदयबहादुर राना मगर

२१ भदौ,   उदयबहादुर राना मगर,   at 11:32 AM

By   /  September 6, 2020  /  Comments Off on झापा बसाईबाट म आफैं पुरस्कृत भएको अनुभूत गरेको छुः उदयबहादुर राना मगर

    Print       Email

मेरो बाल्यकालदेखिकै सपना थियो पूर्वी नेपाललाई नजिकबाट अनुभुत गर्ने । त्यहाको प्राकृतिक छटाहरुसंग रमाउने । तर संयोग मिलिरहेको अवस्था थिएन । छोटो समयको घुमफिरबाट त्यहाँको आर्थिक, सामाजिक तथा साँस्कृतिक पाटाहरुलाई सजिलै अनुभुत गर्न सकिने कुरा भएन । त्यो अवसरको खोजिमा थिएँ म । संयोगबस मलाई नेपाल सरकारको निर्णय अनुसार झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दियो । सोही अनुसार मिति २०७६।६।१ गते उक्त कार्यालयमा हाजिर हुन पुगें । यो अवधि निर्णय भएको मितिले झण्डै १८ दिनपछि थियो ।

विभिन्न संसय र कौतुहलताको साथ यो जिल्लाको प्रशासनिक बागडोर सम्हाल्न पुगेको ममा अलिकति डर अलिकति उत्साह र अलिकति कौतुहलता थिए ।

पूर्वतिरको जागिरे अनुभव पहिलो अनि सम्माननीय प्रधानमन्त्रीज्यूको गृह जिल्ला स्वभाविक रुपमा मैले पाएको जिम्मेवारीलाई बढी नै गहरुङ्गो महशुस गरेको थिएँ । कार्य अनुभवको हिसावले यो जिल्ला मेरो लागि प्रमुख जिल्ला अधिकारीको रुपमा रहेर कार्य गरेको पाचौं जिल्लाको थियो । तथापि कौतुहलता र प्राप्त जिम्मेवारीको विचको सन्तुलन कायम कसरी गर्ने भन्ने विषयमा सोचमग्न थिएँ ।

इलाम जिल्लाको पहाडी भूभागको फेदैमा अवस्थित यो जिल्लालाई दुईतिरबाट भारतीयभूमिले घेरिएको तर समथर अन्नको भण्डार तथा पूर्वको नै आर्थिक केन्द्रको रुपमा अवस्थित रहेको कारण पहाडी भेगका जनतालाई यहाँ रहेको भौतिक सुविधाले चुम्वक झैं तानिरहेको भान हुन्थ्यो । यो मात्र कहाँ हो र जिल्लामा रहेको शिक्षित जनता अनि केन्द्रिय राजनीतिमा प्रत्यक्ष रुपमा नेतृत्व सम्हादै आएका राजनीतिक नेतृत्वले गर्दा मेरो जिम्मेवारीलाई थप चूनौतीपूर्ण भएको थियो । जनसंख्याको थैलीलाई हेर्दा प्रदेश नं १ को दोस्रो ठूलो जिल्लाको रुपमा रहेको छ । बसाई सराई गरी आउने जनसख्याको अवस्थालाई हेर्दा १० बर्ष अघिको जनसंख्यामा झण्डै दोव्वर भएको सजिलै आँकलन गर्न सकिन्छ ।

सशक्त प्रतिपक्ष भएको जिल्ला भएकै कारण राजनीतिक सन्तुलन कायम गर्नु मेरा लागि फलामे चिउरा झैं थियो नै । यो अवस्थामा गरिने कार्यसम्पादनले मेरो क्षमताको जाँच गरेको सजिलै अनुमान गर्न सकिन्थ्यो । तर पनि मेरो निजामती सेवाको २१ बर्षे अनुभव त्यसमा पनि अधिकांश समय मोफसलको कार्यसम्पादनको कारण यो चूनौतीको समानाको लागि काथर हुन दिएन ।

यस जिल्लाका प्रशासनिक बागडोर सम्हालेका पूर्व प्रशासकहरुको भनाइमा जिल्लाको प्रशासन सञ्चालन सजिलो तर बुद्धिमतापूर्ण कार्यसम्पादनबाट मात्र सम्भव हुन्छ । सुरुवातीका दिनहरुमा मलाई ती पूर्व प्रशासकको अनुभवले बारम्वार सजक बनाइ रहन्थ्यो । तर, जव सुरुवातीका ती दिनहरु जिल्लाका राजनीतिक तथा प्रशासनिक व्यक्ति अनि नागरिक समाज तथा सन्चारकर्मी मित्रहरुसंगको भेटघाट पश्चात मेरो संसयलाई चिर्न सफल भए । जिल्लामा राजनीतिक तथा सार्वजनिक सरोकारका विषयमा आएका समस्यालाई राजनीतिक दलहरुको छलफलबाट नै टुङ्गोमा पुग्ने संस्कारले प्रशासन सञ्चालनमा ठूलो सहयोग मिलेको थियो । त्यसको साथै अन्य जिल्लामा प्रयोगमा नआएको संवाद समूहको गठनले झन विवाद निरुपणमा कानुनी भन्दा पनि व्यवहारिक ढंगबाट किनारा लगाउने प्रचलनले मेरो पूर्व संसयलाई चिर्न सहयोग पुग्यो ।

विस्तारै जिल्लालाई आफ्नै अनुभूतिले आलकार गर्दै गए । करिव १५ दिनमा नै विगतका बुझाई र मेरा लागि बनाईका हाउगुजीका फिरिङगोलाई चिर्न सफल भए । यो जिल्लाको मेरो कार्य अनुभव करिव १ बर्ष जति रहयो । यो अवधिमा केही सम्झना गर्न लायक घट्ना जसले मेरो कार्यअनुभवको खातामा थप बढोत्तरी गर्यो नै ।

आश्विनदेखि माघ महिनासम्म मेरो लागि कार्यानुभवको हिसावले अलि सुखद रह्यो । यो अवधिमा जिल्लामा शान्ति सुरक्षा तथा विपदको हिसावले त्यति चिन्ता गर्नुपर्ने अवस्था रहेन । शीतलहरको छनक देखिएता पनि त्यसले खासै ठूलो हानी गरेन । तर जंगली हात्तिको कारण हुने अन्न वाली तथा मानवीय क्षति यहाँको लामो समय देखिको नै समस्या हो । यस्ता समस्याहरु यो अवधिमा पनि नआएको होइन । यो अवधिमा जिल्ला प्रशासनको गिरेको शाखलाई उकास्न विशेष गरी सुशासनको पक्षलाई केन्द्र भागमा राखी अगाडि बढियो । सुशासनका लागि सुधारका केही प्रयासहरु यहि अवधिमा अगाडि बढाइयो ।

विशेषगरीः शान्ति सुरक्षाको पक्षमा हेर्दा अपराधको सख्या २० प्रतिशतले कमी ल्याउन सफल भएको छ । यो अवस्थाले शान्ति सुरक्षाको अवस्थामा सुधार भएको भन्न सकिन्छ । सुशासनका सवालमा सेवाग्राहीहरुको लागि शुद्ध पिउने पानीको सुविधा, सेवाग्राही प्रतिक्षालयमा टेलिभिजन, कार्यालयको वातावरण स्वच्छ राख्नका लागि सबै कर्मचारीहरु सहभागी भई प्रत्येक महिनाको अन्तिम शुक्रबार कार्यालय परिसर सरसफाइ गर्ने कार्यको थालनी गरियो । फ्री वाइफाई, प्रत्येक महिनाको पहिलो आइतबार सन्डे मिटिङ, सेवा प्रवाह पारदर्शी, प्रभावकारी, चुस्त दुरुस्त बनाउन २२ बुँदे प्रतिवद्दता, सेवा प्रवाह तथा सुशासन प्रवर्दनका लागि  टोकन प्रणालीको सुरुवात गरिएको छ ।

कार्यालयको सौन्दर्यता अभिबृद्धिको लागि कार्यालय भवनभित्र बुद्धको प्रतिमा र कछुवा सहितको माछा पोखरीको स्थापना गरीयो । सेवा लिन आउने सेवाग्राहीलाई लक्षित गरी कार्यालय परिसरमा पुस्तकालयको स्थापना गरिएको छ । यो पुस्तकालयमा करिव २ लाख भन्दा बढी रकमको विभिन्न प्रशासनिक तथा कानुनी पुस्तकहरुको संग्रह गरिएको छ । जिल्लाभित्र रहेको सरकारी जग्गाहरुको लगत संकलन गरी अभिलेखीकरण गर्ने कार्य सम्पन्न गरिएको छ । बैकिङ प्रणालीबाट गर्न गराउन कार्यालय परिषरमा नै प्रभु बैकको शाखा स्थापना गराएको छ ।

विगत लामो समयदेखि रहदै आएको बेरुजूलाई ९९.६ प्रतिशत फर्स्यौट गरिएको छ । त्यसै गरी यस आ. व. मा दर्ता भएको ९१ प्रतिशत मुद्धा फर्स्यौट गरि न्याय सम्पादनमा सुधार गरिएको छ । प्रत्येक चौमासिकमा उत्कृष्ट कर्मचारी घोषणा गरी निजको फोटो प्रकाशित गर्ने प्रणालीको सुरुवात गरेको छ ।

कार्यालयका कर्मचारीहरुको कार्यसम्पादन मापन कार्यलाई बैज्ञानिक तथा मापनयोग्य बनाउनको लागि डायरी तयार गरि दैनिक कार्यको प्रमाणिकरण गर्ने प्रणालीको विकास गरिएको छ । कार्यालय परिसरभित्र सेवाग्राहीको लागि निःशुल्क चियाको व्यवस्था गरिएको छ । जनताको अभिमत मार्फत सेवा प्रवाहमा सुधार गर्नका लागि सफ्टवेयर जडान गरी त्यसको गुनासोको सम्वोधन गर्ने कार्यको सुरुवात भएको छ । यो यसता कार्यबाट सेवा प्रवाहमा सुधार आएकोछ । यो कार्यले जनविश्वास प्राप्त हुन थालेकोले पहिलो ६ महिनाको अवधिलाई सामान्य रहेको अनुभुत गरियो ।

झापामा रहँदा केही प्रतिनिधिमूलक घट्नाहरु जसले मेरो कार्यावधिलाई स्मरण गर्न बाध्य बनाउँछ । यहाँको मुख्य समस्याको रुपमा रहेको गाई गोरु तस्करी गरी सिमापारी पठाउन विशेष गरि यसै जिल्लाको नाका प्रयोग हुने गरको छ । विभिन्न जिल्लाबाट संकलित पशुहरुको निकाशीलाई निरुत्साहन गर्न कठिन नै भयो । यसको तस्करी कार्यमा सम्लग्नहरुको पक्षमा अलिकति राजनीतिकर्मीसमेतको इच्छाशक्तिसँगै मिसिएर आउदा कानुनी रसि समेत कतिपय अवस्थामा खुकुलो हुने अवस्था आयो । सन्तुलनका खातिर कानुनी रसिलाई खुकुलो बनाउनु पर्नेमा आफुलाई हिमाल सरी कानुनको कसिमा अटल र अडिक रही कार्य गरियो ।

तर फाल्गुणको अन्तिमदेखि देशमा कोभिडको संक्रमण बढेसंग गरिएको लकडाउनको कारण यो व्यवसाय लगायन सवै व्यवसाय र सिमामा हुने चोरी तस्करी बन्द प्राय भयो । लकडाउन पछिको अवधि पुरै कोभिडको व्यवस्थापनमा लागियो जसले गर्दा अन्य सुधारका क्षेत्रहरुमा धिमापन आयो । यो कोभिडको समयमा जिल्लाका १५ वटा पालिका र त्यसको जनप्रतिनिधि तथा प्रदेश तथा संघीय सांसदहरुको तदारुकता अनि जिल्ला समन्वय समितिको प्रमुखको भूमिका सम्झना गर्न लायक रहयो ।

यो विसम परिस्थितिमा सवैको साथ र सहयोगले कोभिडको महामारीलाई थप बढ्न दिइएन । सवैभन्दा महत्वपूर्ण पाटो भनेको प्रदेश सरकार त्यसमा पनि मूख्यमन्त्री मा. शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री मा. हिक्मत कार्की र स्वाथ्यमन्त्रीको वित्तीय सहयोग र भौतिक उपस्थितिले हामीलाई हतोत्सायी हुन दिइएन ।

साँच्चै क्वारेन्टाइनको व्यवस्थापन मुलतः जिल्ला बाहिरको जनताको व्यवस्थापन कठिन भयो । केन्द्र सरकारको नीति र निर्देशन आउने तर स्रोत साधनसंगै नआउँदा व्यवस्थापनको पाटो कठिन रहन गयो । यी र यस्ता व्यवस्थापकीय कठिनाईको विचमा कोभिडलाई समाजसम्म फैलिन दिइएन । जसले गर्दा कुनै समय प्रदेशको नै पहिलो सक्रमित सख्या भएको यो जिल्लालाई पछिल्लो समयमा नियन्त्रणको घेराभन्दा बाहिर जान दिइएन । यो मेरा लागि जीवनकै एक शिकाई र भोगाई रहयो । यो अनुभवले अन्य जिल्लाको कार्य सम्पादनमा समेत सहयोग पुग्छ भन्दै त्यो क्षणलाई एउटा शिकाइको रुपमा ग्रहण गरे ।

जिल्लाका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु, सामाजिक संघसस्था तथा दानवीर उद्योगी तथा व्यापारी बर्गको सहयोगका कारण कोभिड संक्रमणलाई समुदायसम्म जान दिइएन । यो कार्यबाट आफूलाई केहीहदसम्म आत्मसन्तुष्टि मिलेको छ । यसबाट आफू पुरस्कृत नै भएको अनुभूत गरेको छु ।

हुनतः झापाको बसाई अवधि त्यति लामो नभएता पनि यो अवधि स्मरणीय रहन गयो । यो अवधिमा सम्पादित कार्यमा यहाँका जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वको सहयोगी मन तथा मेलमिलावले मेरो जागिरको दौरानमा नौलो अनुभूति गरे ।  यो अवधिको बसाई, मीठा यादहरु, आत्मीय साथीहरु, धेरै सिकाई र अनुभूतिको संगालोको रुपमा यो जिल्लाको रहन गयो ।

सरुवा भैसकेको अवस्थामा झापा गाउँपालिकामा घटेको एउटा घट्ना जसले मेरो समग्र १ बर्षको सुखद अवधिलाई नमिठोमा परिणत गरिदियो । अप्रत्यसित र तरकारीमा नमक राख्न विर्सिएर पछी राखे झै गरी यसलाई कानुनी दायरामा ल्याइयो । यसमा सवै राजनीतिक दलहरु र झापा गाउँपालिकाको जनप्रतिनिधिको सहयोग अविश्मरणीय रहयो ।  खैर यो घट्ना मेरो जिवनका लागि सदा नमिठो यादको रुपमा रहेको छ ।

समग्रमा जिल्लाको बसाई अवधिलाई यादगार नै रहयो । त्यसमा सहयोग गर्नु हुने मन्त्रीज्यूहरू, माननीय सासंदज्यूहरू, राजनीतिक दलका नेताज्यूहरू, स्थानीय सरकारका प्रमुख ज्यूहरू लगायतका सबै जनप्रतिनिधिहरू, कार्यालय प्रमुख साथीहरू, सुरक्षा निकायका प्रमुखज्यूहरू लगायत सबै सुरक्षाकर्मीहरू, कार्यालयका सबै कर्मचारी साथीहरू, सञ्चारकर्मी मित्रहरू, गैरसरकारी तथा निजी क्षेत्रका व्यक्तित्वहरू लगायत सम्पूर्ण झापावासी दाजुभाइ तथा दिदीवहिनीमा हार्दिक धन्यवाद सहित आभार र ब्यक्त गर्न चाहन्छु । झापाको बसाई केही नमिठो घट्नालाई छाडेर सुखद रहयो । झापा र झापाली जनताप्रति आभारी तथा अनुग्रही छु ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

किर्ते तमसुक सुगौली सन्धि र नेपाल–भारत सीमा

Read More →