
झापा । झापाको बिएण्डसी मेडिकल कलेजले स्वास्थ्य बीमा कार्यक्रम रोक्ने भएको छ । मोरङको नोबेल मेडिकल कलेजले पनि स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिएण्डसी र नोवेलले स्वास्थ्य बीमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएका हुन् ।
उनीहरुले २०७८ मंसिरपछि बिमा वापतको रकम नपाएको जनाएका छन् ।
बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा बापतको ४५ करोड रुपैयाँ भन्दा बढि र नोबेलको ५४ करोड भन्दा बढि रुपैयाँ लिन बाँकी रहेको जानकारी दिए ।
यसअघि १५–१५ दिनमा भुक्तानी गर्ने भनिएपछि अझै पनि बीमा वापतको रकम नपाएको उनले बताए ।
सरकारले ७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ ।
प्रतिपरिवार ५ जनासम्मको ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ ।