
काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।
उनले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बताए।
उनले सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गरे। उनले विगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदासदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताए। उनले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, ‘जनताप्रतिको उत्तरदायित्व र जवाफदेहितालाई सदैव आफ्नो पथ प्रदर्शकको रुपमा आत्मसाथ गर्नु मेरो प्राथमिक दायित्व हो। प्रतिनिधिसभाको सभामुखको हैसियतले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरुको अनुशरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’