Loading...
You are here:  Home  >  खबरमञ्च विशेष  >  Current Article

चार महिनामै बनाए बुधबारेका महिलाले झोलुंङ्गे पुल

साउन १,   खबरमञ्च,   at 4:37 PM

By   /  July 16, 2016  /  Comments Off on चार महिनामै बनाए बुधबारेका महिलाले झोलुंङ्गे पुल

    Print       Email

झापा । प्रायः निर्माणका काममा पुरुषहरुको सहभागिता हुने गरेकोमा झापा बुधबारे १ का महिलाहरुले आफ्नै गाउँमा झोलुङ्गे पुल निर्माण गरेर उदाहरणीय काम गरेका छन् । उनीहरुले पुरुषहरुको ‘लु पुल बनाएर देखाओ’ भन्ने चुनौतीलाई सामना गर्दै उक्त झोलुंगे पुलको निर्माण करीब चार महिनामै सम्पन्न गरेर देखाएका हुन् ।

झापा बुधबारे वडा नं १ मा रहेको दामा खोलामा बनेको पुल गाउँकै महिलाहरुको समितिले बनाएको हो ।

२०७१ साल फागुन महिनाबाट उक्त पुलको निर्माणको काम सुरु गरेका बुधबारे १ का महिलाहरुले चार महिनाको अवधिमै पुल बनाइसके । जसका कारण बुधबारे १ दामा खोला पारिपट्टिका सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ ।

महिलाहरु मात्रै रहेको उपभोक्ता समितिकी अध्यक्ष यमुना चापागाईंका अनुसार उक्त पुलको लम्बाई ७५ मिटर रहेको छ । पुल निर्माणका लागि जिल्ला विकास समिति झापाले ८४ हजार ४ सय ८८ रुपैयाँ र बुधबारे गाविसले पनि सोही परिमाणको रकम उपलब्ध गराएको थियो । जसमा सहारा नेपालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । विभिन्न दातृ संस्थाहरुको सहयोग समेत जुटाएर जम्मा २८ लाख १६ हजार रुपैयाँको लागतमा उक्त पुलको निर्माण सम्पन्न भएको समितिका कोषाध्यक्ष अनिता चापागाईले बताइन् ।

समितिकी अध्यक्ष यमुना चापागाईंका अनुसार पुल निर्माणका बेला धेरैले विश्वास गरेका थिएनन् महिलाहरुले काम गर्न सक्दैनन् भन्ने । ‘तर हामीले हिम्मत हारेनौं,’ उनले भनिन्, ‘हामीले काम गर्नु थियो गरेरै छाड्यौं ।’ अहिले गाउँलेले उक्त पुलबाट आवत जावत गर्दा सन्तोष मिलेको उनको भनाई छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

‘मास्क लगाउँदा त नाकका प्वाल छोप्दैनौं….’

Read More →