Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

ओलीमाथि संकटै संकटः गल्दै ओली, बढदै जन आक्रोश

११ फागुन,   रचना शर्मा,   at 12:40 PM

By   /  February 23, 2020  /  Comments Off on ओलीमाथि संकटै संकटः गल्दै ओली, बढदै जन आक्रोश

    Print       Email

प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकाल अपवादका घट्ना बाहेक निर्विवाद र सफल मानियो। जनताले पहिलो पटक साँच्चै केही गर्न खोज्ने प्रधानमन्त्री पाइयो पनि भने। जसले गर्दा सत्ता बाहिर रहँदा पनि ओलीको लोकप्रियतामा कमी आएन।

ओली दोस्रो पटक प्रधानमन्त्री भएर आउँदा जनतामा त्यो आशा झनै बढ्यो। समृद्ध नेपाल सुखी नेपालीको नारा तय गरेको ओली सरकारप्रति जनताको आशा बढ्नु कुनै गलत पनि थिएन। कारण यतिबेला ओली झनै शक्तिशाली भएर सरकारको नेतृत्व गर्न पुगेका थिए।

तत्कालिन एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकतापछि दुई कम्युनिष्ट पार्टी मिलेर नेकपा बन्यो। संसदमा पनि सहजै बहुमत पुग्यो। र त्यही नेकपा नेतृत्वको सरकारले जनताले दिएको पाँचवर्षे म्याण्डेटबाट अहिलेसम्म २ वर्ष पार गरिसकेको छ।

तर, आजको दिनसम्म आइपुग्दा ओलीको दोस्रो कार्यकाल खासै सुखद रहन सकेन। भलै सरकारले सामाजिक सुरक्षा योजना लगायतका जन भावना अनुरुपका केही कार्यक्रम भने गर्न खोजेकै हो। पहिलो कार्यकालमा निकै सफल र कम विवादमा परेका ओली दोस्रो कार्यकालसम्म आइपुग्दा धेरै विवादले घेरिएका छन्। घट्ना र परिदृश्यहरु फेरिएका छन्। र पछिल्लो समय ओलीले दिइरहेका अभिव्यक्ति सुन्दा पनि यस्तो लाग्छ माओवादी केन्द्रस‌ंग पार्टी एकता गरेर कम्युनिष्टको शासन सत्तालाई झनै मजबुद बनाउन चाहेका प्रधानमन्त्री ओली दिनप्रति दिन गल्दै गइरहेका छन्।

हुन पनि शारीरिक रुपमा पनि प्रधानमन्त्री ओली पहिला जस्तो तन्दरुष्त छैनन् र देखिँदैनन्। हप्तैपिच्छेको डायलासिसले उनको काम गर्ने मनोबल पनि घट्दै गएको होला। त्यो भन्दा पनि १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेको र अर्को मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका उनी मानसिक हिसाबमा पनि गलेका होलान्।

तर, डायलासिस सकिनसाथ सचिवालय बैठक बोलाएर बैठक गर्नसक्ने ओलीको मनोबल गल्नुका पछाडि उनको बिग्रँदै गरेको स्वास्थ्य अवस्था मात्र कारण होइन। उनी नेतृत्वको सरकारको मन्त्रीमण्डलका सदस्य र उनले विश्वास गरेकाहरु एकपछि अर्को काण्डमा मुछिँदै जानु पनि हो। यसबाहेक नेकपाभित्रका अन्य नेताहरु पनि ठूलो प्रकरणमा मुछिएका छन्।

पूर्व सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार सम्बन्धि प्रकरणले पनि कम्युनिष्ट शासनसत्ता माथि धेरैले प्रश्न उठाउने मौका पाए। पार्टी भित्रका यस्ता घट्नाले गर्दा दोस्रो कार्यकाललाई झनै सफल अनि आफूलाई अझै शक्तिशाली बनाउने ओलीको सपनामा ह्रास आइरहेको छ भने आफू पनि गल्दै गइरहेको उनकै पछिल्ला केही अभिव्यक्तिले स्पष्ट संकेत गर्छ।

फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अप्रत्याशित बहिर्गमनले विक्षिप्त बनेका ओलीले त्यही साँझ चिन्तामणि शिवाकोटीको ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ पुस्तक बिमोचन कार्यक्रममा पनि लामो समयसम्म शासन गर्न खोजे संकेतहरु नराम्रो आउन थाल्ने बताए।

यतिमात्र होइन, उनले आफ्नो विश्वास पात्र मानिएका मन्त्री गुमाउँदाको पीडालाई सहजै स्वीकारेझैं गरेर देश लुट्नलाई मन्त्री नबनाएको पनि बताए। तर, यति भन्दा भन्दै पनि उनी केही गलेजस्तो भने देखिनै रहे।

भनिन्छ सत्ता र शक्तिको उपभोग गर्न नजाने त्यसले आफैलाई सिध्याउँछ। करिब दुई तिहाइको शक्तिशाली भनिएको केपी ओली नेतृत्वको सरकार अहिले त्यस्तै मोडमा पुगेको छ। र यो कुरा सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक भन्दै आइरहेका छन्।

फागुन ९ गते भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरु आफैले आफैँलाई सिध्याउने विश्व इतिहास सुनाउँदै नेपालमा पनि पछिल्ला केही घट्नाले त्यसकै संकेत गरेको बताएका थिए।

हुन पनि पछिल्ला घट्नाक्रमलाई हेर्ने हो भने जनतामा पलाएको आशा निराशामा बदलिन थालेको छ। अनि आश गरिएको भनिएको कम्युनिष्ट सरकारप्रति जनताको आक्रोश बढ्न थालेको छ।

जसले गर्दा कम्युनिष्ट शासन सत्तामाथिबाट जनताको विश्वास लोप हुने खतरा पनि बढाएको प्रचण्डको चिन्ताबाट देखिन्छ।

यति होल्डिङ्सस‌ंग नेकपा सरकारको साँठगाँठका सम्बन्धमा पछिल्लो समय बाहिर आए खबरले पनि सरकारलाई निकै विवादमा तानेको छ। अझ महत्वपूर्ण कूरा त पार्टीभित्रै प्रश्न उठ्दा सम्म विवादित भनिएको यति होल्डिङ्सको पक्षमा प्रधानमन्त्री आफैँ उभिनुले पनि सरकारको अलोकप्रियताको प्यारामिटर बढाउँदैछ।

बालुवाटारको ललिता निवास प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलको स‌ंलग्नताले पनि कम्युनिष्ट सरकारमाथि निकै प्रश्न उठायो। अहिले अख्तियारले उक्त प्रकरणमा स‌ंलग्न भनिएकाहरुमाथि मुद्दा चलाउँदा पौडेल नपर्नुले पनि सरकार र नेकपामाथि निकै प्रश्न उठिरहेका छन्।

यतिमात्र होइन भ्रष्टाचारविरुद्धको प्रधानमन्त्रीको नारामाथिनै व्यङ्ग्य पनि हुन थालेको छ। जनताले निकै रुचाएका पूर्व श्रममन्त्री गोकर्ण विष्टलाई अप्रत्यासित रुपमा मन्त्री पदबाट हटाएपछि पनि ओलीको निकै आलोचना भयो। किनभने प्रधानमन्त्री ओलीले विष्ट लगायतका मन्त्रीलाई हटाएर नयाँ

मन्त्री भित्र्याए पनि उनीहरुबाट कुनै नयाँ काम हुन सकेको छैन। जसले गर्दा प्रधानमन्त्रीले मन्त्रीमण्डल हेरफेर गरेर दिन खोजेको सन्देश के थियो भन्ने प्रश्न पनि उठ्न थालेको छ।

अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) को विषयले त आम जनता अनि आफ्नै पार्टीभित्रबाट नराम्ररी घेरिए ओली। तर यति हुँदासम्म पनि ओली टसमस थिएनन्। उनले कुनै हालतमा एमसीसी पास गराएरै छाड्न बताइरहे ।

आफू नेतृत्वको सरकारले दुई वर्ष पूरा गरेको अवसरमा फागुन ३ गते संसदलाई सम्बोधन गर्दै उनले बाहिर जे जति टिप्पणी भए पनि सदनमा टेबुल गर्न साथ पारित हुने बताए। जसले एमसीसी प्रति ओलीको दृढ अडान देखिन्थ्यो।

तर, बाँस्कोटा प्रकरणपछि ओलीको अडान लच्किएको देखिन्छ। कारण एमसीसीका सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलले यथास्थितिमा एमसीसी पास गर्न नहुने सुझाव सहितको प्रतिवेदन दिएपछि ओलीको पूर्ववर्ति अडान फेरिएको छ। आवश्यक परिमानर्जनपछि मात्र एमसीसी अनुमोदन गर्ने उनले पार्टीभित्र बताइसकेका छन् ।

बाँस्कोटा प्रकरणले कम्युनिष्ट माथिको जन विश्वास भत्किएर आक्रोशमा परिणत हुन थालेको छ। भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने प्रधानमन्त्रीको हरेक दिनको नारालाई बाँस्कोटा प्रकरणले नमज्जाले गिज्याइरहेकाे छ ।

यसरी शक्तिशाली हुने दौढमा रहेकाे ओली नेतृत्वको नेकपा सरकार झनै कमजोर र अलोकप्रिय बन्दै जानु प्रचण्डले भने जस्तै आफैँले आफैँलाई सिध्याउने बाटो नहोला भन्न सकिन्न।

किनकी शारीरिक हिसाबले कमजोर बनेका ओली पछिल्ला घटनाक्रमले मानसिक रुपले पनि कमजोर बन्दै गएकाेे देखिन थालेकाे छ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

किर्ते तमसुक सुगौली सन्धि र नेपाल–भारत सीमा

Read More →