Loading...
You are here:  Home  >  विचार / ब्लग  >  Current Article

कोरोना जितेकी बिर्तामोडको एउटा अस्पतालकी नर्सको कारुणिक कथाः के-केसम्म सहनु पर्यो?

२३ असोज,   कल्पना अधिकारी,   at 8:12 AM

By   /  October 9, 2020  /  Comments Off on कोरोना जितेकी बिर्तामोडको एउटा अस्पतालकी नर्सको कारुणिक कथाः के-केसम्म सहनु पर्यो?

    Print       Email

अस्पतालमा केही साथीहरूलाई ज्वरो आए सँगै हामी सबै नर्सहरू आफ्नो घरमा आफ्नै परिवार सँग अलगअलग हुन थालेको थियौँ ।

केही महिना देखि घरमा खुलेर परिवारका सदस्य सँग अंकमाल गर्न नपाउनुको पीडा हामी भन्दा धेरै कसलाई थाहा होला र? जागिरबाट राजिनामा गरेर घर बस्नु भनेर पटकपटक आफ्नै आमाबुबाले गर्नु भएको आग्रह नमानी अस्पतालमा सेवा गर्न नछोड्ने अठोट लिएकी मलाई पनि एकाएक ज्वरो आयो ।

सामान्य रुघा र ज्वरो आएसँगै म अझ आफूलाई अरूबाट अलग गर्न थालेँ । मैले यसबीच बन्दै गरेको नयाँ घरमा रहेको ट्वाइलेट बाथरूम प्रयोग गर्न थालिसकेको थिएँ ।

कोरोना नै लागेको हो होइन भन्ने निर्क्योल गर्न अत्यावश्यक ठानेर मैले काम गर्ने अस्पतालले हामी केही नर्सहरूको स्वाब संकलन गर्ने निर्णय गर्‍यो । त्यसै अनुसार हाम्रो स्वाब संकलन भयो, संकलनको दिन सम्ममा म परिवार सँग अलग्गै बसेको धेरै दिन भइसकेको थियो।

९ गते दिएको स्वाबको रिपोर्ट १३ गते बल्ल आइपुग्यो, परिवारबाट अलग बसेको र लक्षणहरू देखिएको १०-१२ दिन नै कटिसके भएता पनि मैले पुनः २ हप्ता सेल्फ आइसोलनमा बस्ने निर्णय गरेँ ।

मेरो निर्णय परिवार र समाजको हितमा थियो । कोरोना लाग्दा मानसिक रूपमा धेरै हरेस खाइने रहेछ। सुरु दिन त मैले केही सोच्नै सकिन । यदि हाम्रो टोलमा छाडा हिँडेका मान्छेहरूको जाँच गर्ने हो भने धेरैको पक्कै पोजिटिभ रिपोर्ट आउँथ्यो होला ।

तर मलाई डर लाग्थ्यो, म पहिलो संक्रमित भएको र म अस्पतालमा काम गर्ने भएकाले यदि अरूलाई पनि लागेको भए मैले नै सबैलाई सारेको भनेर हल्ला हुनेछ भनेर ।

तर मेरो टोलका मान्छेहरू धेरै पढेलेखेका भएको कुरामा म विश्वस्त थिएँ । अन्य धेरै स्वास्थ्यकर्मीको घर पनि नजिकै रहेकोले मलाई धेरैले हौसला दिने र मेरो परिवारलाई क्वारेन्टाइनमा बस्दा पर्ने समस्या हल गर्न सहयोग गर्ने पुरा विश्वास थियो ।

पढेलेखेका दाइहरू, वर्षौं देखि सँगसँगै खेलेर हुर्किएका साथीहरू, सधैँ आरामको कामना गरेका अग्रजहरू वरिपरि भएका कारण हामी दैनिक सागसब्जीको अभावमा आतिनु नपर्नेमा म ढुक्क थिएँ । तर सबै कुरा मेरो सोचको ठिक विपरीत भयो ।

मेरो छिमेकी सम्म रहेको स्वास्थ्यकर्मी, जनप्रतिनिधिका परिवार लगायत केही गाउँलेहरूले मैले कोरोना फैलाउन लागेको र मलाई तुरुन्त अन्य ठाउँमा लग्नुपर्ने भनेर वडा कार्यालयमा उजुरी गरेछन् ।

म अरू बेलै पनि खासै बाहिर नहिँड्ने मान्छे अनि अझ अहिले त एकान्तबासमा बसेको छु मैले कसरी संक्रमण फैलाउन सकौँला?? म छक्क परेँ । मलाई भित्रैबाट आत्मबल घटेर आयो ।

मानसिक रूपमा धेरै कमजोर भएको महसुस गरेँ तर मेरा सहकर्मी साथीहरू र म काम गर्ने अस्पतालले मलाई एक्लो हुन दिएनन् । फेसबुक म्यासेन्जरमा ग्रुप बनाएर मलाई हसाउँनेदेखि लिएर मेरो घर सम्म सागसब्जी र अन्य दैनिक उपभोग्य वस्तु लिएर भेट्नसम्म आए ।

टाढाबाटको त्यो भेटले गाउँका पढेलेखेका भनाउँदा आफन्तहरूको असहयोगले दुखेको मन शान्त भयो। तर कुरा यति मै सकिएन म र मेरो परिवार सम्पूर्ण रूपमा आइसोलसनमा रहेको र कहिँ नगएको भएता पनि केही स्थानीयहरूको पहलमा हाम्रो घरमा रातो झन्डा गाड्ने दबाब आएछ ।

केही व्यक्ति आएर त्यो इच्छा नि पूरा गर्नुभयो । म माथिल्लो तलाको खाली कोठामा बसेर भारी मन र आँसु नै आँसु भएका आँखाले एक टक उहाँहरूलाई हेरिरहेँ ।

कुनै दिन मैले अस्पतालबाट आएर खाजासम्म नखाई घाउ ड्रेसिङ् गरिदिन पुगेका घरहरू अनि थोरै बिरामी पर्दा सम्झिएर सिटामोल ल्याइदिने गरेको सानी बैनीका बुबा पनि हाम्रो घरमा झन्डा गाड्दा चुपचाप हुनु भयो ।

म ट्वाल्ल परेँ, मानिसहरू एकाएक आफ्नो असली रूप देखाउँदै थिए । मैले आफ्ना मान्छेहरू, देश र यो समाजका लागि देखाएको सेवाभावको मूल्य यो तिरस्कारबाट पाउँदै थिएँ ।

संसार बुझेर पनि नबुझेको झैँ मेरो मनको शान्ति लुछ्दै गरेका मैसासुरहरूको प्रतिविम्ब सायद यिनीहरू जस्तै हुँदो हो । मलाई अझ दु:ख त स्वास्थ्य शिक्षा बारे जानकार परिवारका सदस्यहरूले पनि कोरोना हावा बाट नै सर्छ झैँ गरेर गरेको घृणा सम्झँदा लाग्यो ।

कमसेकम मलाई फोन नै गरेर “कस्तो छ केही कुराको अभाव छ कि छैन” भनेर सोध्नुभएको भए नि हुने । मलाई त मानसिक यातना दिनु नै भयो तर क्वारेन्टाइनमा बसेको मेरो परिवारलाई पनि छोड्नु भएन ।

कसैले हाम्रो परिवारको कान्छो सदस्य ३ वर्षको सानो भाइलाई खुवाउने दूध किन्यौ कि के गर्दैछौ भनेर नि सोध्नुभएन । तपाईँहरू सबैको यो बैगुन कहिले बिर्सने छैन । अन्त्यमा मेरा सहकर्मी साथीहरू र शुभचिन्तक आफन्तहरूको प्रेम, सहयोग र समर्थनका लागि धन्य छु ।

तपाईँहरूलाई यस्तो कहिल्यै नपरोस् । अनि मेरो घरमा झन्डा गाड्न आउने प्रिय छिमेकी, मलाई खाना ल्याइदिएको भनेर छिमेकी दिदीलाई घर बाहिर नै रात कटाउन बाध्य पार्ने आदरणीय ख्वामितहरू अनि मलाई कोरोना लाग्दा झ्याली पिट्दै हिँड्ने स्थानीय स्वास्थ्यकर्मीको परिवारका सदस्यहरू हामीलाई थाहा छ तपाईँहरू सबैलाई एक न एक दिन मेरो स्थानमा बसेर अनुभव गर्ने अवसर मिल्नेछ ।

अनि म तपाईँहरूका लागि उत्साहको अक्सिजन जोड्ने साहससहित गुण लगाउन आउनेछु । उही, तपाईँहरूको हेला सहेर भएनि कोरोना जित्न सफल बहिनी।

कल्पना ! बिर्तामोड-१, झापा

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्रीकाे ‘रअ’ प्रमुखसँगको भेटले राष्ट्रिय सुरक्षामा ‘थ्रेट’ भयोः गगन थापा

Read More →