
बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरुकोे राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताका लागि दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिवद्धता जनाएका हुन् । नेत्रहीन युवा संघ नेपालको आयोजना तथा संवाद समूह झापाको सहकार्यमा बिर्तामोडमा बिहीबार सम्पन्न कार्यक्रममा दलहरु प्रमुख तथा सरोकारवालाले समावेशी सिद्धान्तअन्तर्गत अपाङ्गता भएकाहरुको सहभागिता महत्वपूर्ण रहेको बताए ।
उनीहरुले आगामी निर्वाचनमा झापा जिल्लामा अपाङ्गतामैत्री संरचना निर्माणमा समेत प्रतिवद्धता जनाएका छन् । मतदानमा अपाङ्गता भएकाहरुको पूर्ण सहभागिताका लागि मतदान स्थल तथा केन्द्रहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइयो ।
कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचनमा सहभागिता सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचनमा सहभागी हुँदा विगतमा देखिएका समस्याहरु, अपाङ्गता भएकाहरुका लागि निर्वाचन प्रक्रियामा गर्नेपर्ने सुधारका पक्षहरुलगायत विषय राखेका थिए ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङगता भएकाहरुबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताबारे राजनीतिक दलहरुलाई निरन्तर दबाब दिनुपर्ने बताए । उनले मतदान केन्द्रहरु अपाङ्गतामैत्री बनाउने प्रयास गर्ने बताए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले संसदमा अपाङ्गता भएकाहरुको प्रतिनिधित्वबारे स्पष्ट कानुनी व्यवस्था भएपनि अपांगता भएकाहरु राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्न नसक्नु दुखद् भएको बताए । उनले आगामी निर्वाचनमा अधिकतम् मतदानस्थल अपांगतामैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।