
काठमाडौं । नयाँ नेपाली फिल्म ‘ओभर डोज’ को प्रदर्शन मिति तय गरिएको छ। फर्स्टलुकअन्तर्गत पोष्टर सार्वजनिक गर्दै तिहारको छेको पारेर निर्माण युनिटले फिल्मको रिलिज आगामी १७ मंसिर हुने घोषणा गरेको हो। अमेरिकामै सम्पूर्ण छायांकन भएको फिल्मलाई दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्ट प्रालिले संयुक्त ब्यानरमा निर्माण गरेका हुन्।
रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले फिल्म अब विस्तारै घोषणा गर्ने बताए। ‘हामीले ओभर डोज घोषणा गरेका छौं, यसअघि चिसो मान्छे घोषणा भइसकेको छ। अब छिट्टै अन्य फिल्म पनि घोषणा गर्ने छौं’, करणले भने। उनले अन्य फिल्मसँग नाजुध्ने गरी सेड्युल मिलाएर मात्र फिल्म घोषणा गर्ने बताए।
प्रेम, रोमान्स र एक्सन समेटिएको फिल्मलाई सुमन पौडेलले निर्देशन गरेका हुन्। यसमा प्रनिशराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको मुख्य भूमिका छ।
फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाइको छायांकन छ। कमल पाण्डेको भिजुअल इफेक्ट समेटिएको फिल्मका लेखक उपेन्द्र पंजियार, जुनियर मोरेनो हुन्। नयन आचार्य प्रोडक्सन डिजाइनर रहेको फिल्म जि.जि ग्रुप उपत्यका र एफडी कम्पनीले उपत्यकाबाहिर वितरण गर्नेछ।