Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छः मन्त्री अर्याल

२४ पुस,   खबरमञ्च,   at 3:33 PM

By   /  January 9, 2020  /  Comments Off on सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छः मन्त्री अर्याल

    Print       Email

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन्। राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई बिहीबार ललितपुरमा सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन्।

सहकारी अब विकासको दिशातर्फ जानुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशिलता, व्यवसायिकतामा जानुपर्ने बताइन्। राज्यले सहकारीलाई तीन खम्बे अर्थनीतिअन्तर्गत समेटेको भन्दै उनले एक सहकारी एक रोजगारी अनिवार्य रुपमा लागू गरेर जानुपर्ने बताइन्।

सहकारी अभियानले सहकारीलाई रोजगारीको थलो बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले त्यसको एकमात्र बाटो भनेको उद्यमशिलता भएको बताइकी छन्। ‘सहकारी रोजगारीको थलो बनाउने अभियानमा लाग्नुपर्छ। वैदेशिक रोजगारीलाई विस्थापित गर्नेगरी सहकारी अभियान लाग्नुपर्छ। त्यसका निम्ति उद्यमशिलता र व्यवसायिकता हो’, मन्त्री अर्यालले भनिन्।

सहकारीसँग पूँजी र जनशक्ति दुवै भएकाले उद्यमशिलतामा जान सम्भव हुने उनको भनाइ थियो। त्यसबाट रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारीमा जाने ठूलो संख्यालाई स्वदेशमै रोक्न सकिने उनको विश्वास छ।

राज्यले सन् २०३० सम्ममा गरिबी शून्यमा झार्ने लक्ष्य लिएको उल्लेख गर्दै उनले अहिले रहेको १८ प्रतिशत गरिबीको संख्या न्यूनीकरण गर्नका निम्ती पनि सहकारीले भूमिका खेल्नुपर्ने बताइन्। ती गरिबी निवारणका कार्य स्थानीय तहबाट गर्नुपर्ने मन्त्री अर्यालको भनाइ छ।

स्थानीय स्तरमा आफ्नो ठाउँको पहिचान गरेर गरिबी निवारणका कार्यक्रम गर्नसमेत मन्त्री अर्यालले सहकारीलाई आग्रह गरिन्।

सहकारीमा उद्यमशिलताको नारा बनाएर जान सुझाव दिँदै मन्त्री अर्यालले भूगोलमा काम सुरू गरिहाल्न आग्रह गरिन्। राष्ट्रिय अर्थतन्त्र निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले एउटा नतिजा दिनेगरी सहकारी अगाडि बढ्नुपर्ने बताइन्। सहकारीले उद्यमशिलताका क्षेत्रमा काम गर्ने क्रममा आइपर्ने विभिन्न कानुनी बाधाहरूलाई मन्त्रालयले सहजीकरण गर्दै आएको समेत बताइन्।

सहकारीमैत्री कानुन निर्माण पहिलो शर्त भएको भन्दै मन्त्री अर्यालले सहकारी अभियन्ताहरूले दिएको सुझावको मनन गरिने बताएकी छन्। मन्त्री अर्याल भन्छिन्, ‘काम गर्न चाहँदा हातखुट्टा बाँध्ने कानुन फ्याक्ने अभियानमा छौ। सहकारीमैत्री कानुन पहिलो सर्त हो। यसवर्ष सहकारीमैत्री कानुन बनाउने कुरा सम्पन्न गरौं।’

बचत तथा ऋण सहकारी संस्थाहरूको संख्या अत्याधिक भएकोले संख्या बढी हुँदा प्रगतिमा बाधक हुने भएकोले सहकारीको संख्या कम गर्ने अभियानमा जानुपर्ने मन्त्री अर्यालले बताइन्। अब संस्थाको संख्या बढाउनेतिरभन्दा कार्यक्षेत्र विस्तार गर्ने अभियानतर्फ लाग्नुपर्ने उनको भनाइ थियो।

भोलीको सम्भावित जोखिमको विश्लेषण आजै गरेर सचेत हुनुपर्ने भन्दै उनले त्यसलाई मर्जर गरेर कम बनाउने र निष्क्रिय रहेका संस्थाको खारेजीमा जानुपर्ने बताइन्। ‘एउटा संस्थाहरूबीचमा मर्जर गरेर संख्या घटाउने र दोस्रो निष्क्रिय रहेका संस्थाहरू जसको लेखापरिक्षण नगर्ने, प्रतिवेदन नबुझाउने, साधारणसभा नगर्ने संस्थाहरू राखिराख्न पर्दैन’,  मन्त्री अर्यालले भनिन्‚ ‘यसरी संख्या घटाउन सकिन्छ। तपाईंहरू आँट गर्नुस्, फाइलहरू खोज्नुस्। सहकारी आन्दोलन जोगाउनेतर्फ ध्यान दिनुस्। बिग्रनलाई धेरै संख्या चाहिँदैन।’

अन्तर सहकारी समन्वयलाई पनि जोड्नुपर्ने भन्दै मन्त्री अर्यालले बचत तथा ऋण सहकारीको ब्याजका विषयमा पनि विशेष ध्यान दिन आग्रह गरिन्। त्यसैअन्तर्गत ब्याजदरका विषयमा बोल्दै उनले उनले यस विषयमा अभियन्ताहरूले बृहत् छलफलको माग गरेको बताइन्।

एउटै संस्थामा एउटै व्यक्तिले वर्षौंवर्ष नेतृत्वमा रहिरहनाले पनि संस्था प्रगतिमा नजाने भन्दै उनले एउटै नेतृत्व रहिरहने कुरालाई निरुत्साहित गर्दै नेतृत्व हस्तान्तरणमा जानुपर्ने बताएकी हुन्।

समयसापेक्ष सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्ने भन्दै मन्त्री अर्यालले सहकारीलाई डिजिटलाइज्ड गर्ने कुरा लागू गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरिन्। अब सहकारी सिस्टमबाट चलाउनुपर्ने भन्दै उनले अन्तर सहकारी चेक सटाइको व्यवस्था लागू गरिनुपर्ने बताइन्।

कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले सहकारीलाई आकर्षणको क्षेत्र बनाउनुपर्ने बताए। राज्यले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियान पूरा गर्न सहकारी महत्वपुर्ण क्षेत्र भएको भन्दै सचिव गौतमले गरिबीमुखी कार्यक्रम, योजना बनाएर अगाडि बढ्न जरुरी भएको बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सभामुखको निर्वाचन माघ १२ गते

Read More →