
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेकी नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूकी अध्यक्ष नवीना लामा पहिलोपटक संघीय संसदमा प्रतिनिधित्व गर्न पाएकी भाग्यमानी महिला नेतृ हुन् ।
उनको जीवनमा यो छोटो समयमा भएको ठुलो राजनैतिक छलाङ हो । नेकपा एमालेको समानुपातिक तर्फबाट प्रतिनिधिसभा सांसद बनेकी लामालाई हामीले अब संसदमा तपाईको सहभागिता, खबरदारी र पहरेदारी कस्तो रहन्छ ? भनी सोधेका छौं ।
प्रस्तुत छ, उनै लामासंग गरिएको कुराकानीको सम्पादित अंशः
संघीय संसदमा तपाईँको भूमिका कस्तो रहने छ ?
जनताको म्यानडेट अनुसार मेरो उपस्थिति एक दमै सशक्त रहन्छ । जुन नीति बनाइने छ बन्ने छ वा बनेका छन् त्यसको प्रभावकारी कार्यान्वयन गर्ने कुरा होस् या जनताले अनूभूति गर्ने गराउने कुरामा म आफूलाई प्रस्तुत गर्नेछु ।
अव यो सरकार स्थिर सरकार भएकाले देशको समृद्धि जनताको अभिभारा पुरा गर्न केन्द्रित हुने हुँदा त्यसको कार्यान्वयन र निरन्तरताका लागि उत्प्रेरक भएर लाग्ने हुन्छ ।
स्थिर सरकारले विकासका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने या राजनीतिक व्यवस्थापनमा समय खर्चिने भन्ने विषयले पनि बेला बेलामा स्थान पाउँछ, यस्तो अवस्थामा तपाईँहरुको उपस्थिति हुनु र नहुनुमा फरक के भिन्नता रहला भन्ने प्रश्न उठ्छ नि ?
राजनितिक आन्दोलन अव सकिइ सकेको छ , हो छिटफुट रुपमा केही कुराको व्यवस्थापन गर्न बाँकी होला , त्यसको नियमन पनि यही सरकारले उचित ढंगबाट गर्नु पर्छ ।
अव राजनीतिक स्थायित्वको जगमा टेकेर काम गरेर देखाउनु छ । मलाई लाग्छ, संघीय व्यवस्थामा पहिलो पटक बनेको स्थायी सरकारलाई यति सुन्दर अवसर मिलेको यसको अधिकतम उपयोग जनताको हितमा, देशको हितमा बनाउन हामी हरदम लागि रहने छौँ ।
राजनीतिक आन्दोलन पुरा भएको यो अवस्थामा, अझ हामीलाई सजिलो के भने जनताको म्यान्डेट पुरा गर्ने प्रत्याभूति त संविधानले नै दिएको छ , त्यसैले हामीलाई त काम गरेर देखाउनु बाहेक अरु कुनै विकल्प छैन ।
किन कि हामीले गर्ने काम त भव सागर नै छ नी । शिक्षा, स्वास्थ्य, रोजगारलगायत यावत कुरा गरेर देखाउनु छ त्यसैले मलाई लाग्छ जनता सुखी भएको हेर्ने हाम्रो कल्पना पुरा गर्न दत्तचित्त भएर लाग्ने छौ ।
वर्तमान सरकार स्थिर हुने भएकाले त्यसले गर्ने काम पनि दुर गामी खालको हुने हुँदा हाम्रो समर्थन र पहलकदमी सदा रहन्छ । यति पनि हुन सकेन भने हामी यो सम्मानीत संसदमा आउनुको तुक पनि रहदैन अनि हिजो र आजमा फरक पनि रहदैन ।
तपाई विद्यार्थी आन्दोलनलाई पनि महसुस गर्नु भएको छ । नेपालको शिक्षा प्रणाली, यसका चुनौती समस्या जे भनौ बुझ्नु भएको छ, समग्र विद्यार्थी वर्गले तपाईबाट अबको दिनमा के आशा गर्ने ?
हेर्नुस हिजोका दिनमा मात्रै होइन , सडकमा उभिएर जसरी मैले सशक्त रुपमा आवाज उठाए त्यो मेरो लागि उर्जा हो । समस्या यावत छन् तर समाधान पनि हामी बाटै हुनु पर्छ ।
अव त झन म नीति निर्माण गर्ने तहमा पुगेको छु त्यसले गर्दा मलाई हिजो मैले देखेका समस्याहरु, चुनौतिहरुको समाधान , व्यवस्गापन कसरी गर्ने भनेर सरकार तहसम पुर्याउन सहज हुनेछ ।
केन्द्र सरकारले आफू मातहतका अरु सरकारको निगरानी र समन्वयात्मक भूमिका खेल्ने हुँदा केन्द्र देखि गाउँ तहसम्म भए गरेका समस्या या कामलाई प्रभाकारी रुपमा सम्पन्न गर्न गराउन मद्दत गर्ने छ ।
निर्वाचन भएको करीव ३ महिना पछि मात्रै सपथ ग्रहण भएको छ, यति ढिलासुस्ती अझै पनि किन भइ रहेको होला ?
हो , यो समस्या राष्टीय रुपमा अझै पनि छ , जो विगतमा पनि देखिँदै आएको थियो । तर यसो भई रहनु रहनु हुँदैन । सम्मानीत संसदको गरिमालाई उँचो बनाई राख्न यस खालमा ढिलासुस्तीको अन्त्य हुनु पर्छ । दलगत स्वार्थभन्दामाथि उठेर राष्ट्रिय हितको निम्ति जनताको पक्षमा लाग्नु पर्छ भन्ने सवैले बुझ्न जरुरी छ ।