Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

चुनाव हुनु एक साताअघि थाइल्याण्डमा नमुना मतदान

३ चैत,   खबरमञ्च,   at 4:04 PM

By   /  March 17, 2019  /  Comments Off on चुनाव हुनु एक साताअघि थाइल्याण्डमा नमुना मतदान

    Print       Email

बैङ्कक । थाइल्यान्डमा आइतबार बिहानैदेखि देशभरी नमूना मतदान जारी छ। मतदान केन्द्र तोकिएका विद्यालय, पार्किङ स्थल, मन्दिरलगायतका ठाउँमा हजारौँको संख्यामा मतदाताहरुको लाइन देखिएकाे छ।

पछिल्लाे ८ वर्षपछि मात्र थाइल्यान्डमा निर्वाचन हुन लागेको हो। आगामी मार्च २४ तारिखका दिन हुने निर्वाचनका लागि आज नमूना मतदान गरिएकाे हाे। मतदानमा झन्डै २३ लाख जनाले मतदान गर्ने अपेक्षा गरिएको छ।

सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री यिङ्लक सिनावात्रादेखि अहिलेसम्म पटक-पटक निर्वाचन सर्दै आएकोमा आइतबार मात्रै नमुना मतदान भएको हो।

मतदाताहरुलाई सरकारी कर्मचारी, सैनिकसहितका सुरक्षाकर्मीहरु, स्वास्थ्यकर्मीहरु, विद्यार्थी र स्वयम्‌सेवकहरुले सघाइरहेका छन्। मतदान भइरहेको एउटा विद्यालयमा थाई राजा माहावाजिरालोङकोर्न पनि पुगेर अवलोकन गरेका बताइएको छ। ९८ वर्षीय राजा महााभाजिलोङ्कनकाे साे अवलाेकन भ्रमणलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले पनि उच्च प्राथमिकता दिएका छन्।

मार्च २४ तारिखका दिन हुने वास्तविक निर्वाचनमा देशभरबाट ५ करोड १० लाखभन्दा बढी मतदाता सामेल हुने विश्वास गरिएकाे छ। ती मध्ये झन्डै १ लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने भएका छन्। आयोगका अधिकारीहरूले दिएको जानकारी अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन्। मतदान गर्ने आप्रवासीमध्ये सबैभन्दा धेरै अष्ट्रेलिया र अमेरिकामा छन्।

निर्वाचनका लागि झन्डै १० हजार उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका निर्वाचन आयोगले जनाएको छ।

थाइल्यान्डमा देशभर गरेर कूल ३ सय ५० निर्वाचन क्षेत्र रहेका छन्। हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने ५ सय रहेको छ।

थाइल्यान्डको राजनीतिमा ठूलो प्रभाव रहेको सिनावात्रा परिवारको पार्टी भने यो निर्वाचनमा सहभागी हुनबाट वञ्चित भएको छ। पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले विघटन गरिदिएपछि निर्वाचनमा भाग लिनबाट वञ्चित भएको हो।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आम निर्वाचनका लागि मतदान गर्ने दिन आउन दुई हप्ता बाँकी रहँदा अदालतले सो पार्टी विघटनको फैसला गरेको थियोे। थाई राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेर पार्टीले अवैध र गलत काम गरेको भन्दै अदालतले विघटन गरिदिएको बताइएको छ।

संवैधानिक अदालतका ९ सदस्यले सर्वसम्मत सो पार्टी विघटन गर्ने निर्णय गरेको थियो। थाइल्याण्डकी राजकुमारी उबोलरत्ना महिडोलले केही हप्ता अगाडि रक्षा चार्टबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिइन्। तर, निर्वाचन आयोगले भने उनलाई उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेपछि उनी आफ्नो निर्णयबाट पछाडि हटेकी थिइन्।

उनले उम्मेदवारी घोषणा गरेको केही घण्टामै उनका भाइ तथा थाइल्यान्डका राजा माहा वाजिरालोङकोर्नले आफ्नी ठूली दिदीको घोषणाप्रति असन्तुष्टि जनाएपछि आयोगले उनलाई अयोग्य घोषणा गरेको हो।

राजपरिवारका सदस्य दलीय र सक्रिय राजनीतिमा संलग्न हुनु उचित नहुने राजाको भनाइअनुसार ६७ वर्षीया राजकुमारी महिडोललाई आयोगले अयोग्य घोषणा गरिदिएको थियो।

थाइल्यान्डमा राजसंस्थालाई उच्च सम्मानका साथ पवित्र संस्थाका रुपमा हेरिने भएकाले राजसंस्थाको आसयलाई पालना गरेको पाइन्छ।

आफ्ना भाइको असन्तुष्टि र निर्वाचन आयोगले अयोग्य घोषणा गरेपछि राजकुमारी उबोलरत्नाले पनि क्षमा माग्दै आफू उम्मेदवार नबन्ने बताएकी थिइन्।

अदालतले सिनावात्रा परिवारका दुई सदस्यसहित सो पार्टीका केही नेताहरुलाई एक दशकसम्म राजनीतिमा प्रतिबन्ध पनि लगाएको छ। रासस/एएफपी

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धेरै लिची खाएका कारण ४७ जना बालबालिकाको मृत्यु

Read More →