Loading...
You are here:  Home  >  छापामा  >  Current Article

अवकाशप्राप्त ५२ प्रहरी अधिकृतका घरमा कार्यरत ८५ प्रहरी फिर्ता, कसको घरबाट कति जना?

२७ पुस,   खबरमञ्च,   at 7:39 AM

By   /  January 11, 2019  /  Comments Off on अवकाशप्राप्त ५२ प्रहरी अधिकृतका घरमा कार्यरत ८५ प्रहरी फिर्ता, कसको घरबाट कति जना?

    Print       Email

काठमाडौं । अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन्।

प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ ।

एउटै पूर्वएआइजीको घरमा चारजनासम्म सुरक्षाकर्मी

नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ। कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ ।

तर, सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन् । एआइजीले राखेका एकभन्दा धेरै प्रहरी मात्र फिर्ता गरिएको स्रोतले बतायो।

पूर्वएआइजी विजयलाल कायस्थको घरबाट एक हवल्दार र तीन जवानलाई फिर्ता गरिएको छ। अझै पनि उनीकहाँ केही प्रहरी छन्।

त्यस्तै, पूर्वएआइजी मिङमार लामाको घरबाट पनि चार प्रहरी लगेकामा फिर्ता गरिएको खबर अाजकाे नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

पूर्वएआइजीहरू मधु पुडासैनीबाट दुई, पंकज श्रेष्ठबाट एक, कमलसिंह बमबाट दुई, अमरबहादुर शाहबाट एक, हेमन्तबहादुर पालबाट तीन, रणबहादुर चन्दबाट तीन, बमबहादुर भण्डारीबाट दुई, दीपक थाङदेनबाट दुई र विजयकुमार भट्टबाट दुई प्रहरीलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ।

पाँच पूर्वआइजिपीको घरबाट १२ सुरक्षाकर्मी फिर्ता

पूर्वआइजिपीहरू दुर्लभकुमार थापा, रमेश चन्द ठकुरी, हेम गुरुङ, ओमविक्रम राणा र उपेन्द्रकान्त अर्यालको घरमा अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ।

थापाको घरबाट दुई कार्यालय सहयोगी, ठकुरीको घरबाट एक जवान र एक कार्यालय सहयोगी, गुरुङको घरबाट एक असइ, दुई हवल्दार र एक कार्यालय सहयोगी, राणाको घरबाट तीन जवान र अर्यालको घरबाट एक असइ फिर्ता गरिएको छ।

२२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट ३७ फिर्ता

डिआइजी र एसएसपीले दुरुपयोग गरेका सुरक्षाकर्मी पनि फिर्ता गरिएको छ । २२ पूर्वडिआइजी र पाँच पूर्वएसएसपीको घरबाट प्रहरी तानिएका छन्। पूर्वडिआइजी गणेश केसी र पवन खरेलले राखेका तीन–तीनजना प्रहरी फिर्ता गरिएको छ।

यस्तै, हिमबहादुर गुरुङबाट दुई, पुष्कलराज रेग्मीबाट एक, इन्द्रबहादुर शेरचनबाट एक, श्याम खड्काबाट एक, नवराज सिलवालबाट दुई, दीपककुमार श्रेष्ठबाट एक, रोमेन्द्रसिंह देउजाबाट एक, गोविन्दप्रसाद निरौलाबाट एक, सुदीप आचार्यबाट दुई तथा भोगबहादुर थापाले लगेका दुई प्रहरीलाई तानेर नियमित ड्युटीमा लगाइएको छ ।

अमृतकाजी श्रेष्ठ, पुष्पचन्द्र रञ्जित, छविलाल जोशी, रमेशकुमार भट्टराई, गोपालप्रसाद भण्डारी, अच्युतप्रसाद चालिसे, शरद चन्द, सुरेन्द्रबहादुर पाल र श्याम खड्काले एक-एकजना तथा केदारमानसिंह भण्डारीले दुईजना राखेकोमा उनीहरूलाई पनि प्रहरी प्रधान कार्यालयले तानेको छ।

प्रहरी जनशक्तिको दुरुपयोग गरी व्यक्तिगत काममा लगाउने पूर्वएसएसपीको घरबाट पनि सुरक्षाकर्मी तानिएका छन्। पूर्वएसएसपीहरू सुभाषचन्द्र चौधरीले दुई तथा बलराम शर्मा पौडेल, उत्तमबहादुर सिंह, इन्द्र न्यौपाने र विष्णुहरि गौतमले एक–एकजना प्रहरी घरमा राखेकोमा फिर्ता गरिएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

७३ हजार कर्मचारीले रोजे समायोजन

Read More →