Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

अंग दान अभियानमा सहयोग पुर्‍याउन मन्त्री यादवको आग्रह

१८ फागुन,   खबरमञ्च,   at 4:05 PM

By   /  March 2, 2019  /  Comments Off on अंग दान अभियानमा सहयोग पुर्‍याउन मन्त्री यादवको आग्रह

    Print       Email

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मरणोपरान्त अंग दानको अभियानमा सहयोग पुर्‍याउन आग्रह गरेका छन्।

नेपाल औषधि उत्पादक संघले शनिबार चितवनमा आयोजना गरेको मरणोपरान्त अंग दानको सामाजिक अभियानको शुभारम्भ गर्दै मन्त्री यादवले अंग दान महादान भएको बताए।

मन्त्री यादवले यो अभियानबाट धेरैको ज्यान बचाउन सकिने बताए। उनले भने, ‘यस महान् कार्यमा हामी सबै लागौँ अभियानकै रुपमा लागौँ।’ नेपालमा उत्पादन हुने औषधिमा गुणस्तरीयता सुनिश्चितता गर्न आग्रह गर्दै मन्त्री यादवले यहाँ उत्पादन हुने औषधि आयात नगर्ने गरी नीति बन्न लागेको बताए। उनले जति औषधि नेपालमा बन्दैनन् ती मात्र आयात गर्ने गरी नीति बन्ने स्पष्ट पारे।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले महासंघको सञ्जालमार्फत अंग दानका विषयमा देशव्यापीरुपमा जनचेतना फैलाउन सहयोग गर्ने बताए। उनले नेपालको औषधि लेख्न चिकित्सकलाई आग्रह गर्दै उपचार पनि नेपालमा नै गर्न सबैलाई अनुरोध गरे। नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले गत वर्ष पाँच हजार मानिसको सडक दुर्घटनामा निधन भएको भन्दै ती सबैको अंग प्रत्यारोपण गर्नसकेमा मात्र पनि अकालमा ज्यान जानबाट धेरैलाई जोगाउन सकिने बताए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले मन, बचन र कर्मले अंग दानमा सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एक जना मस्तिष्क मृत्यु भएका व्यक्तिले आठ जना बचाउन सक्ने बताए। उनले मुटु, कलेजो, आमाशय, सानो आन्द्रा, फोक्सो र मिर्गौला दान गरेर अरुको जीवन बचाउन सकिने बताए। प्रत्यारोपण केन्द्रले ६ वर्षमा ५८० जनाको अंग प्रत्यारोपण गरेको बताउँदै उनले वर्षेनि करोडौँ रुपैयाँ अंग प्रत्यारोपणका लागि विदेशिएको उल्लेख गरे।

सो अवसरमा औषधि उत्पादक संघका केन्द्रीय अध्यक्ष दीपकप्रसाद दाहाल र महासचिव प्रज्वलजंग पाण्डेले सामाजिक उत्तरदायित्व बहन गर्दै संघले सातौँ नेपाल फर्मा एन्ड हेल्थ एक्स्पो २०१९ का अवसरमा अंग दान कार्यक्रमको आयोजना गरिएको बताए। उनहरुले विश्वमा प्रतिष्पर्धा हुने गरी गुणस्तरीय औषधि उत्पादन गर्न नेपालीसक्षम रहेको बताए।

एक्स्पो शुक्रबारबाट शुरु भएको हो। रासस

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पहिलोपटक महिनावारी हुँदा देखिन सक्छन् यी समस्या

Read More →